काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आज सोमबार राजधानीमा आयोजना गरेको ‘खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था र नीतिगत व्यवस्था विषयक’ राष्ट्रिय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले आम जनताका समस्यालाई समाधान गर्न खानेपानी विधेयक बढी केन्द्रित रहेको बताउनुभएको हो ।
‘खानेपानी ऐन जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ ।’ उहाँले भन्नुभयो, ‘जनताका समस्या र आवश्यकतालाई ध्यानमा राखेर ऐन बनाएका छौं । खानेपानीको क्षेत्रमा हामी कहाँ स्रोतको अधिकारको विषयलाई लिएर धेरै विवादहरु आएका छन् । खानेपानीको मुहान स्रोतको अधिकारका विषयमा विधेयकमा स्पष्ट व्यवस्था गरिएको छ । यसले त्यो समस्या हल गर्नेछ ।’
‘व्यक्तिको पहुँचका भरमा हाम्रा खानेपानीका आयोजनाहरु तयार भए । तर जनताको आवश्यकताका बारेमा कसैले ध्यान दिएको पाइएन, उहाँले थप जोड दिंदै भन्नुभयो, ‘अब हामीले आवश्यकताको आधारमा मात्र योजना बनाउँछौं । स्थानीय तह, प्रदेश र संघीय सरकार आपसमा समन्वय गरेर मात्र गुरु योजना तयार गर्छौं ।’
खानेपानी मन्त्री मगरले विकेन्द्रित भएका समस्याहरुलाई केन्द्रित गरेर समाधानको बाटो खोज्ने तयारी मन्त्रालयले गरिरहेको बताउनुभयो । उहाँले सिंचाईमा जस्तै आम जनताले उपभोग गर्ने खानेपानीमा बिजुली महसुल (डिमाण्ड चार्ज) मा छुट दिन मन्त्रालय लागिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वरिष्ठ संविधान एवं प्रशासन विज्ञ काशिराज दाहालले पानीको स्रोतको संरक्षण गर्ने विषयमा भविष्यमा विवाद आउन सक्ने भएकाले यो विषयलाई विधेयकमा स्पष्ट पार्नुपर्ने सुझाव दिनुभयो । उहाँले विधेयकमा पानीको मुहान स्रोत संरक्षणमा तीनै तहका सरकारको जिम्मेवारी तोकिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले स्थानीय तह र उपभोक्ता संस्थाहरुबीच खानेपानी आयोजनाका विषयमा विवाद बढ्दै गईरहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले खानेपानीमा सिंचाई जस्तै विद्युत महसुलमा आधा छुट दिनुपर्ने माग राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०७६, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो
कोरलामा खानेपानी र शौचालयको अभाव