छाउपडी गोठमा लुकाइएकी किशोरीजस्तै चितवनको दियालो दरबार

प्रकाश सिग्देल

शुक्रबार, ११ पुस २०७६, १७ : ००
छाउपडी गोठमा लुकाइएकी किशोरीजस्तै चितवनको दियालो दरबार

चितवन । पर्यटन वर्ष २०२० को तयारी तीव्र पारिरहँदा चितवनको एउटा ऐतिहासिक र पर्यटकीय हिसावले निकै महत्वपूर्ण दियालो दरबारको कतैबाट चर्चा सुनिएको छैन ।

चितवनले आफना पर्यटकीय गन्तव्यहरुमा दियालो दरवार समावेश गरेको पाइँदैन भने राज्यले पनि दियालो दरबारलाई छाउपडी गोठमा लुकाइएकी किशोरीलाई जस्तै गरी लुकाएर राखेको छ ।

नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपूर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर नेपाली सेना र सरकारका विशेष अधिकारी बाहेक अन्यले कमै पाउने गरेका छन् । यो दरबार नेपाली सेनाले सुरक्षा प्रदान गरी राखेको छ । सेनाकै संरक्षणमा रहने गरी पर्यटन वर्ष २०२० का लागि भए पनि यो दरबार सर्वसाधारणका लागि खुला गरिनुपर्ने आवाज अहिले उठ्न थालेका  छ ।

पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवनमा रहेको दियालो दरबार सर्वसाधारणले  अवलोकनको अवसर अहिलेसम्म पाएका छैनन् ।

राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि पाटीसमेत खान मिल्ने गरी भोजन गृहका रुपमा विकास गरिरहँदा  दियालो दरबार भने लुकाइनु दुःखद भएको चितवनका पर्यटन व्यवसायीहरु बताउँछन् ।

ऐतिहासिक महत्व बोकेको दियालो बंगाला दरवार अहिले नेपाल ट्रष्टको मातहतमा रहेको छ । सुरक्षार्थ नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारीबाहेक अरु कोही यस दरवार परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् । नेपाली सेनाको घेरामा रहेको जंगलभित्र एकान्तमा दियालो बंगला दरबार रहेको छ । 

सर्वसाधारण मात्र होइन, चितवनका सरकारी अधिकारी, जनप्रतिनिधि, यहाँका पर्यटन व्यवसायी उद्योगी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत दरबार हेर्ने अवसर पाएका छैनन् । दरवारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको उद्योग वाणिज्य महासंघ तीन नम्वर प्रदेशका उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतमको भनाइ छ ।

आफूले एक पटकमात्र दरबारभित्र प्रवेश गरी सामान्य रुपमा अवलोकन गर्ने अवसर पाएको बताउँदै उहाँले यो दरबार सबै हिसावले महत्वपूर्ण रहेको र यहाँको भित्री वातावरण आफैँमा पनि अति सुन्दर र मनमोहक रहेकाले पर्यटकका लागी दरबार खुल्ला गर्नुपर्ने बताउनुभयो ।

इतिहास मेट्ने राजनीतिक संस्कार भएकाले पुरानो इतिहास भएको शाह बंसको अस्तित्व मेटाउने खेलमा राज्य लागेकोले यो पनि ओझेलमा पारिएको उहाँले बताउनुभयो । केही शुल्क लिएर भए पनि दरवार अवलोकनको लागि खुला गरिनुपर्ने  उहाँ बताउनुहुन्छ ।

अन्तका दरबारलाई होटल सञ्चालन गर्ने लिजमा दिने निर्णय गर्ने सरकारले चितवनको दियालो दरबारलाई सर्वसाधारणलाई समेत प्रवेश गर्न नदिइनु दुःखद भएको यहाँका व्यवसायीहरु बताउँछन् ।

यो शाहवंशीय राजाहरूको शितकालीन दरवार हो । राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए । यो दरवार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ । यो दरवारमा सबैभन्दा धेरै बस्ने राजा महेन्द्र हुन् भने राजा वीरेन्द्र पनि माघेसंक्रान्तिको अवस‍र परेर बस्न आउने गरेको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । त्यहाँका एक पुराना कर्मचारीका अनुसार राजा ज्ञानेन्द्र पनि यहाँ एक दिनका लागि आएका थिए ।

चितवन जिल्लाको नारायणगढ बजार नजिक रहेको दियालो बंगाला दरबार सर्वसाधारणका लागि खुला गर्न सके यसले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने दरबार आसपासका क्षेत्रमा खेलेर हुर्कनु भएका उद्योगी चन्दन अग्रवाल बताउनुहुन्छ ।  हाल सेनाको संरक्षणमा यो क्षेत्र रहेकाले दरबार र यसको संरक्षित भूमि भने अतिक्रमणबाट बचेको छ । दरबार नेपाली सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागि भने खुल्ला गर्नुपर्ने व्यवसायी रन्जन अग्रवालले बताउनु भयो ।

देवघाट क्षेत्र बिकास समिति चितवनका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले देवघाट जाने मुखमा दरबार रहेकाले आम सर्वसाधारणलाई पनि यहाँभित्र कस्तो छ होला भन्ने कौतुहलता जाग्ने गरेकाले यसलाई सर्वसाधारणका लागि समयमा खुला गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस