सभामुख चयनको निर्वाचन धकेलिने, संसदको आजको बैठक स्थगित गर्ने तयारी

१४ पुसको साटो १८ पुसमा सभामुखको चुनाव गराउने संसद सचिवालयको तयारी

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, ०८ : ४५
सभामुख चयनको निर्वाचन धकेलिने, संसदको आजको बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सत्तासिन पार्टी नेकपाले सभामुख चयन गर्न ढिलाई गरेपछि संसदको आज दिउँसो बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने तयारी भएको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाईएको थियो । सूचना टाँस गरेर स्थगित गरिने बैठक १६ गते बोलाउने तयारी भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार, आजको बैठक स्थगित गरेर ५ दिन पछि सार्न नेकपाले आग्रह गरिसकेको छ । संसदमा बहुमत रहेका कारण उसले संसदको सभामुख पद आफ्नो पोल्टाबाट अन्यत्र जान दिने पक्षमा देखिदैन् । सभामुख लिनका लागि उसले सबैभन्दा पहिले हाल रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा गराउनु पर्नेछ ।

त्यसपछि संसदको जेष्ठ सदस्यले संसद बैठकको अध्यक्षता गरेर सभामुख चयनका लागि निर्वाचन प्रक्रिया अगाडी बढाउनु पर्ने हुन्छ । सचिवालयले आजको बैठकको पहिलो कार्यसूचिमै सभामुख चयनका लागि निर्वाचन तालिका तय गर्ने बनाएको थियो । तर उपसभामुखले राजीनामा दिईनसकेको र नेकपाले सभामुखका उम्मेदवार चयन गरिनसकेका कारण पनि संसद बैठक सूचना टाँस गरेर स्थगित गर्ने तयारी भएको हो ।

१६ गते बैठक आव्हान भए १८ गते सभामुख निर्वाचन गराउने गरी तयारी हुन सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।  नेकपाका दुई अध्यक्षका बीचमा मंगलबार बेलुकी सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा छलफल गर्न बालुवाटारमा भेट भएयता छलफल हुन पाएको छैन । अध्यक्ष दाहाल गृहजिल्ला चितवनको कार्यक्रममा ब्यस्त रहेका कारण प्रधानमन्त्री केपीओली र प्रचण्डका बीचमा भेटवार्ता हुन पाएको छैन ।

प्रचण्ड अहिले बिहान चितवनवाट फर्केपछि मात्र दुई नेताका बीचमा सभामुख चयनका विषयमा छलफल हुने बताईएको छ । सभामुखका लागि नेकपाभित्र पूर्व एमाले धारवाट सुवास नेम्वाङ र शिवमाया तुम्बाहाम्फे र माओवादी धारवाट अग्नि सापकोटा, पम्फा भुषाल र देव गुरुङ आकांक्षी छन् ।

त्यसमध्ये पनि नेम्वाङलाई बनाउने कि सापकोटा भन्नेमा नेताहरु विभाजित छन् । पूर्व माओवादी पक्षले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनका लागि भएपनि सभामुख पूर्व माओवादी समुहलाई नै दिनुपर्ने र प्रचण्डले पनि त्यो पूर्व भागवन्डा छोड्न नहुने दबाव छ । पूर्व एमाले धारले भने पार्टी एकता भईसकेकोले पूर्व समुहको भागवन्डा भनेर अल्झिन नहुने बताईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस