कतारमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोकियो

शुक्रबार, ०१ मंसिर २०७४, १२ : ०९
कतारमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोकियो


 कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल ९झण्डै २ सय अमेरिकी डलर० तोकेको हो ।

कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् ।

यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो ।

कतारी श्रममन्त्री नाउमीले भने– सुधार प्रयास यतिमै रोकिनेवाला छैन, यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’

अपेक्षाभन्दा कम

कतारले तोकेको यो न्यूनतम तलव अपेक्षाभन्दा निकै कम हो । नेपालले यसअगाडी नै कतार जाने नेपाली कामदारको न्यूनतम तलव ९ सय रियाल र खाने बस्ने शुल्क ३ सय हुनुपर्ने नियम लागू गरिसकेको छ । नेपालको बैदेशिक रोजगार बिभागले सोही आधारमा अनुमति दिँदै आएको छ । कतारले अहिले ल्याएको न्यूनतम तलवमान नेपाली कामदारले पाउँदै आएको तलवभन्दा निकै कम हो ।

प्रतिक्रिया दिनुहोस