सरकारले किन रोक्यो प्रहरी आईजीपीको चीन भ्रमण ?

यस अगाडी अमेरिका र भारतको भ्रमण पनि रोकिदिएको थियो ।

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १० : ३२
सरकारले किन रोक्यो प्रहरी आईजीपीको चीन भ्रमण ?

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण सरकारले रोकेको छ । गृहमन्त्री रामबहादुर थापासँगै चीन भ्रमण जाने तयारीमा रहेका आईजीपी खनालको चीन भ्रमण सरकारले रोकेको हो । सोमबार बसेको मन्त्री परिषद् बैठकले खनालको मात्र भ्रमण अस्वीकृत गरेको हो । यस अगाडी पनि उनको भारत र अमेरिकाको भ्रमण सरकारले रोकिदिएको थियो ।

भारत भ्रमण जान उनले गृहमा राखेको प्रस्ताव गृहमन्त्रालयले नै फाइल अगाडी नबढाएपछि रोकिएको थियो । चिनका राष्ट्रपति सि जिनफिङ नेपाल भ्रमण सकेर फर्केलगत्तै खनालले अमेरिका भ्रमणमा जाने तयारी गरेका थिए । गृहले त्यसबेला उनको भ्रमणको प्रस्ताव क्याबिनेटमा लगेको थियो । तर मन्त्रिपरिषद बैठकले खनालको भ्रमण अस्वीकृत गरिदिएको थियो । यो पटकको चीन भ्रमण अस्वीकृत सँगै खनाललाई सरकारले तेश्रो पटक विदेश भ्रमणबाट रोक लगाएको छ ।

खनालको चीन भ्रमण रोकिएपनि गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत भने अन्य चीन भ्रमण जाने छन् । उनीहरु २१ पुसमा चीन जान लागेका थिए । खनालको भ्रमण रोकेर उनको ठाँउमा सरकारले प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई पठाउने तयारी गरेको छ । आईजीपी खनालको भ्रमण किन रोकियो भन्ने बारेमा केही नखुलेपनि सरकारले उनलाई पूर्ण विश्वास नगर्दाको परिणाम हो भन्ने बुझ्न सकिने एक पूर्व प्रहरी महानिरीक्षकले बताए ।

खनाल आईजिपी बनेपछि विवादमा तानिदैं आएका छन् । तालुकदार मन्त्रालयसँगको समन्वय नगरी कतिपय अवस्थामा उनले आफैं अगाडी बढ्न खोज्दा पनि विवादमा पदै आईरहेका थिए । गत चैत ७ गते उनले थाइल्यान्डको बँैककमा भएको वहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (विमस्टेक) राष्ट्रका सुरक्षा प्रमुखहरुको बैठकमा नेपालको परराष्ट नीति उल्लंघन गर्दै भारतीय सुरक्षा सल्लाहकार अजित डोभलको प्रस्तावलाई नेपाल सरकारको अनुमति बिनै आफै समर्थन जनाएर फर्केका थिए ।

क्षेत्रीय मञ्चबाट भारतीय रणनीतिलाई समर्थन जनाएर फर्केपछि सरकार समेत आईजिपि खनालसँग झस्केको थियो । यो विषयमा परराष्ट्रले नेपाल सरकारको त्यस्तो धारणा नरहेको भन्दै प्रष्टिकरण नै दिनु परेको थियो । यत्ति मात्रै होइन, आईजीपी खनालले सरकारलाई अन्य विषयमा पनि अप्ठ्यारोमा पार्दै आएका छन् ।

सर्लाहीमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्डमा पनि खनाल स्वयं जोडिएका थिए । चितवनमा रवि लामिछानेसँग जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा देखि निर्मला काण्ड सम्मका घटनामा पनि आईजीपी खनाल विवादमा तानिए । 

‘सरकारले सितिमिति प्रहरी महानिरीक्षकको भ्रमण रोक्दैन,’ ति पूर्व प्रहरी महानिरीक्षकले भने,–‘कि त देशमा कुनै सुरक्षा सम्वेदनशील अवस्था आईलाग्नु पर्छ, नत्र रोकिदैन, उनीमाथी सरकारले पूर्ण विश्वास नगरेकै कारण भ्रमण रोकिएको हो ।’
 

प्रतिक्रिया दिनुहोस