उपसभामुखमा अब को ? दुर्गा की चन्दा !

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, ०९ : ४५
उपसभामुखमा अब को ?  दुर्गा की चन्दा !

काठमाडौं । संसदको सभामुख को बन्ला ? संसदमा बहुमत रहेको दल नेकपाको बन्नेमा कुनै दुविधा छैन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगका आधारमा हुनुपर्ने ब्यवस्थाका कारण नेकपाले अहिले उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराई सभामुख नछोड्ने नीति लिईसकेको छ । त्यसका लागि उनले ११ पुसभित्रै राजीनामा दिने तयारी छ ।

११ पुसमा बस्ने संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया आरम्भ गर्ने तयारी भएपछि शिवमायाले त्यस दिनभित्रै राजीनामा दिने नेकपा स्रोतले बनाएको छ । सभामुखमा नेकपाले कसलाई अगाडी बढाउछ, त्यो सत्तारुढ नेकपाभित्रको आन्तरिक मामला हो । सभामुखका लागि नेकपाभित्र दुईटा मोडेलको छलफल छ । पहिलो पार्टी एकतापूर्वको तत्कालिन माओवादीले लिएकोलाई आधार मान्ने की नमान्ने ? दोश्रो त्यसपछि मात्र सम्भावित उम्मेदवारको चयन हुने । पूर्व माओवादीले सभामुख पाएमा देव गुरुङ, पम्फा भुषाल र अग्नि सापकोटाको चर्चा छ ।

यसमा पनि सापकोटा सम्भावित सूचिमा अग्र स्थानमा छन् । तर पूर्व पार्टीको भागबन्डाको आधार तोडेर सभामुख बनाउन खोजिएमा भने सुवास नेम्वाङ सभामुख बन्न सक्ने सम्भावना छ । फरक दल र फरक लिंगका कारण पनि आफ्नो दलले उपसभामुख नपाएपनि नेकपाले जसलाई साथ दिन्छ, उपसभामुख त्यही पार्टीका उम्मेदवारले जित्ने निश्चित छ ।उपसभामुखमा नेकपाले कसलाई टेको लगाउला ? यसले सरकार र उपसभामुख पाउने दलका बीचमा सहकार्यको सम्भावना पनि रहने कारण यसलाई राजनीतिमा निक्कै चासोका साथ हेरिएको छ ।

उपसभामुखमा दुईटा पार्टीका दुईटी महिला सांसदलाई सम्भावितका रुपमा हेरिन थालिएको छ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राजपाका चन्दा चौधरी । नेकपाले यी मध्ये कसलाई समर्थन गर्ला ? यसैमा उपसभामुखको छिनोफानो लाग्ने देखिएको छ । अहिलेकी उपसभामुखलाई भने नेकपाले समाजवादीले छोडेको कानुन मन्त्रालयमा लगेर मन्त्री बनाउने भित्री तयारी शुरु गरिसकेको छ ।

जनमोर्चाकी पौडेल मसालका महामन्त्री तथा पूराना कम्युनिष्ट नेता मोहन विक्रम सिंहकी श्रीमति हुन् । उनलाई गत प्रतिनिधीसभा चुनावमा नेकपाले नै प्यूठानवाट चुनावी तालमेलमा जिताएर ल्याएको थियो । यस बीचमा यो पार्टीसँग नेकपाले स्थानिय र प्रदेश सभाको उपचुनावमा पनि तालमेल गरेको थियो । राजपासँग पछिल्लो चरण सत्तारुढ दल नेकपाका नेताहरुको बढ्न थालेको हिमचिमले राजपाले उपसभामुख उछिट्याउने सम्भावना बलियो बनेर आएको चर्चा पनि छ । राजपाले उपसभामुखका रुपमा पूर्व खेलकुद साहायक मन्त्री समेत रहेकी चन्दा चौधरीलाई अगाडी सार्ने तयारी गरेको छ ।

काँग्रेसले पुष्पा भुषाललाई अगाडी सारेर नेकपालाई प्रतिपक्षलाई सहयोग गर्न आग्रह गर्ने तयारी गरेपनि नेकपाले काँग्रेसलाई सघाउने सम्भावना न्यून छ । उपसभामुख सम्वैधानिक परिषदको सदस्य पनि हुने भएकाले त्यो पद काँग्रेसलाई दिन चाहिरहेको छैन । यस अर्थमा पनि दुर्गा पौडेल की चन्दा चौधरी भन्नेमा नेकपाले कसलाई साथ दिन्छ, उसैले उपसभामुख पाउने निश्चित देखिएको छ ।

कतिपयले नेकपा राजपाभित्र भित्री सरकारको भागबन्डाका विषयमा सहमति बनिसकेको पनि चर्चा सुनिन थालेको छ । सभामुखमा नेम्वाङ, उपसभामुखमा चन्दा चौधरी, शिवमाया तुम्बाहाम्फेलाई कानुनमन्त्री र सहरी विकास मन्त्रालय प्रधानमन्त्री स्वंमले राख्ने तयारी छ । दोश्रो तयारीका रुपमा प्रदेश २ को सरकारको समिकरण फेरबदलको चर्चा छ । त्यसमा सकभर नेकपाले मुख्यमन्त्रीमा राजपालाई मनाएर सरकार हेरफेर गर्ने, तर त्यो सम्भावना नदेखिएमा राजपाका मनिष सुमन या जितेन्द्र सोनल मध्ये एक मुख्य मन्त्री रहेर नेकपा पनि सरकारमा सहभागी हुने, तेश्रो राजपाले उठाउदै आएको रेशम चौधरीको विषयमा सरकारले केही स्टेप अगाडी सार्ने योजना बनाएको छ । 

राजपाको केन्द्र सरकारमा सत्तारोहण को चर्चा पनि अहिले राजनीतिक वृत्तमा हुन थालेको छ । तर यो खालको रणनीतिमा कतिको सम्भावना छ भन्ने हेर्नका लागि केही दिनको विकसित हुने राजनीति नियाल्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन । राजपा नेताहरु र सरकारका प्रतिनिधीहरु भने यस विषयमा अहिले मुख खोल्न चाहिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस