बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालयमा विवाद, आश्रमलाई कमाई खाने केन्द्र बनाइएको आरोप

प्रकाश सिग्देल

मंगलबार, ०८ पुस २०७६, १६ : २१
बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालयमा विवाद, आश्रमलाई कमाई खाने केन्द्र बनाइएको आरोप

चितवन । बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रम समितिले आफुहरुमाथि संरक्षक मण्डलले अभद्र ब्यवहार गरेको बताएको  छ ।

नारायणगढमा पत्रकार सम्मेलन गरि आश्रमका अध्यक्ष शैलेन्द्र पियाले ७ गते बैठक बसिरहेको स्थानमा योगी ब्यग्र बेधनाथ, योगी निरन्जन नाथको नेतृत्वमा आएका साधु सन्तहरुले बैठकको कार्यसूचीमा प्रवेश गर्न नदिई हुलदंगा र अभद्र ब्यवहार गरी कार्यसमितिका पदाधिकारी, सदस्य, त्यहाँका डाक्टर र अन्य कर्मचारीलाई दुब्र्यवहार गरेको बताउनु भयो ।

आफुहरुले असुरक्षाको महसुस गरि प्रहरी प्रशासनमा खबर गरेको र पछि प्रहरीले त्यहाँका साधुहरुलाई कार्यालयमा बोलाएर अब यस्तो नगर्न भनेपछि उनीहरुले हाल केहि नगरेको तर आफुहरु भने असुरक्षित भइरहेको अध्यक्ष पियाले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पिया, निर्वतमान अध्यक्ष ऋषि पाण्डे सहितका सहभागीहरुले बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रमको बिधानमा ब्यवस्था भएको प्रमुख संरक्षक र संरक्षकको अधिकार कटौति गरी त्यहाँबाट योगीहरुलाई नहटाउँदासम्म आफुहरुले सहज ढंगबाट काम गर्न नपाउने बताउँदै बिधानमा भएको नाथहरुको अधिकार खारेज गर्नु पर्ने समेत बताएका थिए ।  

परिषदले प्राकृतिक चिकित्सालय सन्चालनको नाममा २५ सैयाको अस्पताल नै सन्चालन गर्ने गरि पुर्वाधारहरुको बिकास गरी त्यसलाई कमाई खाने केन्द्रका रुपमा बिकास गर्दै लैजान थालेपछि संरक्षक सहितका साधु सन्त र समितिकै केहि पदाधिकारी र सदस्यहरुले बिरोध गरेका छन् ।

आफुहरुले त्यहाँ गरेको काम देखेर आत्तिएका केहि मानिसहरुले राजनीतिक रुपमा पुर्वाग्रह राखी चिकित्सालयको बारम्बार बिरोध गरेको अध्यक्ष पियाको भनाई थियो । योगी नरहरी नाथको आश्रम रहेको सो स्थानमा मेडिकल कलेजले छाडेको भवनमा बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरी नाथ आश्रम सन्चालक समितिले त्यहाँ छुट्टै समिति निमार्ण गरी चिकित्सालय सन्चालनमा ल्याएको छ । यहि चिकित्सालय सन्चालनका बिषयमा संरक्षक मण्डल र समितिका पदाधीकारीबिच बिबाद रहँदै आएको छ ।

चिकित्सालय सन्चालक समितिले त्यहाँ सेवाका नाममा ब्यापार गरी आश्रमका प्रमुख संरक्षक योगी नरहरी नाथको भावना बिपरित काम गरेको भन्दै आश्रममा संरक्षक सहितका समिति सदस्यहरु साधु सन्तले बिरोध जनाएपछि समितिले आफुहरुमाथि बिभिन्न आरोप लगाएको आश्रमका संरक्षक योगी ब्यघ्र बेधनाथले बताउनु भयो ।  
गुरुको नाममा चिकित्सालय सन्चालन गर्ने र बिरामीसंगबाट धेरै पैसा असुली ब्यापार गरी कमाई खाने थलोका रुपमा आश्रमलाई बिकास गरिएकाले त्यस्तो काम गर्न नपाउने भन्दै आफुहरुले आवाज उठाएको आश्रमका संरक्षक योगी बेधनाथ बताउनु हुन्छ ।

चिकित्सालय सन्चालन गर्ने भए उपचार गर्न आउनेहरुलाई पुर्णतया प्राकृतिक तवरबाट  निःशुल्क रुपमा उपचार  गर्नु पर्ने आफुहरुको माग रहेको उहाँको भनाई छ । आश्रम गुरु चेला परम्परा अनुसार नै सन्चालनमा आउनु पर्ने र आश्रमको संरक्षक नै आश्रमको अध्यक्ष हुने ब्यवस्था पनि बिधानमा हुनु पर्ने उहाँ बताउनु हुन्छ । 
बिधानले आश्रमको संरक्षकलाई नयाँ समिति बिघटन गर्ने र नयाँ निर्माण गर्न सक्ने अधिकार दिएको तर अहिलेको समितिले बिधान संशोधनका नाममा बिधानमा भएको संरक्षकको अधिकार समेत कटौति गरि आश्रमबाट योगीको अधिकार पुरै खारेज गरी भोगीहरुको भोगाधिकार रहने गरि ब्यवस्था गर्न लागेकाले आफुहरु त्यसको बिरुद्धमा रहेको उहाँ बताउनु हुन्छ ।

त्यहाँ रहेको गुरुकुलको बिकासमा ध्यान नदिने, गौशालाका गाईको संरक्षणमा चासो नदिने, चिकित्सालयका नाममा कमाई खाने काम गरि गुरुको बदनाम भएकोले त्यस्तो नगर्न आफुहरुले खबरदारी गरेको उहाँको भनाई छ ।
यसअघि पनि चिकित्सालयका नाममा काठ तस्करीका बिषयहरु बाहिर आएपछि संरक्षक मण्डलले आश्रम समिति बिघटन गरेको थियो । पछि नयाँ समिति निर्माण भएको हो । 

प्रतिक्रिया दिनुहोस