झारखण्डमा भाजपालाई झट्का, मुख्यमन्त्री नै पराजित

एजेन्सी

मंगलबार, ०८ पुस २०७६, १२ : २७
झारखण्डमा भाजपालाई झट्का, मुख्यमन्त्री नै पराजित

नयाँ दिल्ली । भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा केही अपत्यारिला तथ्यहरु प्रकाशमा आएका छन् ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) ले जुन राज्यमा जितको सिलसिला सुरु गरेको थियो, तिनै राज्यमा उसले सन् २०१९ को विधानसभा निर्वाचनमा आफ्नो सत्ता गुमाएको छ ।

मुख्यमन्त्री नै पराजित

जमशेदपुर पूर्वको सिटबाट मुख्यमन्त्री रघुवर दास आफ्नै पूर्व सहयोगी सरयु रायसँग १५ हजारभन्दा बढी मतले पराजित भए । सन् १९९५ देखि लगातार जित हासिल गर्दै आएका उनी आफैँ मुख्यमन्त्री भएको अवस्थामा पराजित हुनु पनि अनौठो नै मानिएको छ ।

सन् २०१९ मे महिनामा अर्थात् ७ महिना अघि लोकसभा निर्वाचनको नतिजा आउँदा भाजपाले झारखण्डमा ५१ प्रतिशत मत हासिल गर्दै ५४ विधानसभा क्षेत्रमा अग्रता लिएको थियो । तीमध्ये ३५ सिटमा भाजपाले ५० हजारभन्दा अधिक मतको अग्रता लिएको थियो । भाजपाले राज्यका १४ मध्ये ११ लोकसभा सिटमा जित हासिल गरेको थियो । तर विधानसभा निर्वाचनमा भाजपाले ३३ प्रतिशतमात्र मत हासिल गरेको छ ।

भाजपा पराजित हुनुका कारण

१)​ मुख्यमन्त्रीको अलोकप्रियता

भाजपाबाट मुख्यमन्त्री बनेका रघुवर दासको लोकप्रियता घट्नु पनि भाजपा पराजित हुनुको मुख्य कारण हो । झारखण्डका जनताले रघुवर दासकै नेतृत्वमा रहेको राज्य सरकारको काम कारवाहीलाई मुल्यांकन गरेर मत दिएका हुन् ।

जमशेदपुर पूर्वका ८६ अवैध बस्तीलाई नियमित बनाउने सन्दर्भ विवादमा तानिएपछि मुख्यमन्त्री रघुवर दास नेतृत्वको सरकार आलोचित भएको हो । सन् १९९५ देखि लगातार विधानसभा निर्वाचनमा जित हासिल गर्दै आएका रघुवर दास स्वयं नै यो निर्वाचनमा पराजित भए ।

२) आदिवासीको असन्तुष्टि

जल, जंगल र जमिनको सवालमा आदिवासीहरु रघुवर दास नेतृत्वको सरकारसँग असन्तुष्ट थिए । राज्यमा उद्योगका लागि भूमि बैङ्क बनाउन लागिएको थियो । आदिवासीहरु उक्त जमिनलाई आफ्नो मान्दै आएका थिए ।

परिणामस्वरुप अनुसूचित जनजातिका लागि सुरक्षित २८ सिटमध्ये २० वटामा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । भाजपालाई ती २५ मध्ये ५ सिटमा प्रत्यक्ष नोक्सान भएको छ । जबकि यिनै चुनावी सिटबाट भाजपाले अघिल्ला निर्वाचनमा आफ्नो प्रभाव बढाउने गरेको थियो ।

३) सहयोगी घटक बाहिरिनु

विपक्षीहरु एकजुट भएर झारखण्डमा चुनावी मोर्चामा होमिएको समयमा भाजपाले भने सहयोगी गठबन्धनको साथ गुमाउनु परेको थियो । झारखण्ड मुक्ति मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलले सिट बाँडफाँड गरेर चुनावी अभियान सुरु गर्दा भाजपा र अल झारखण्ड स्टूडेट्न्स युनियन ९आजसू०बीचको सहकार्य टुटिसकेको थियो । आजसू विगत पाँच वर्षदेखि भाजपाका साथ सत्तामा थियो । सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि गठबन्धन टुटेको थियो । परिणामस्वरुप राज्यमा भाजपाले आफ्नो साख जोगाउन सकेन ।

४) विपक्षी आक्रामक

भाजपाका शीर्ष नेताहरु शानदार शैलीमा चुनावी प्रचारमा जुटेका थिए । तर विपक्षी गठबन्धनले त्यसको ठिक विपरीत गुरिल्ला शैलीमा आक्रामक चुनावी कार्यक्रम गरिरहेका थिए । उनीहरुले ठूलो सभा आयोजना गरेनन् । सुदूर क्षेत्रमा पुगेर उनीहरु छुट्टाछुट्टै किसिमले चुनावी प्रचार गरिरहेका हुन्थे, यदाकदामात्र विपक्षी गठबन्धनले मञ्च साझा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस