सभामुख चयनका लागि प्रधानमन्त्री ओली र प्रचण्ड बिच छलफल

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, १२ : १७
सभामुख चयनका लागि प्रधानमन्त्री ओली र प्रचण्ड बिच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोमबार बिहान भेटवार्ता भएको छ । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जानकारी दिएसंगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच यही विषयमा केन्द्रित रहेर वार्ता भएको श्रोतले जनाएको छ ।

स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेकपा को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ । संसद सचिवालयले  दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्ने भएपछि नेकपाका शिर्ष नेतृत्व बिच छलफल भएको छ ।

सचिवालयको समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो । तर नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ ।‘ अब उपसभामुख तुम्बाहाङफेको राजीनामाको विषय कुनै समस्याको विषय रहेन । तर अब सभामुख को हुन्छ भन्ने मुख्य प्रश्न हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘अबको सभामुख सुवास नेम्वाङ नै हुने ९० प्रतिशत पक्का छ । तर दुई अध्यक्षबीच फाइनल नै भने भैसकेको छैन ।’

त्यसो त तुम्बाहाङ्फेले राजीनामा गरेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि नेकपामा कायमै छ । नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ । संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड सोमबार बिहान बालुवाटार पुगेर आगामी योजनाबारे छलफल गरेका हुन् । सभामुख÷उपसभामुखको चयन र एमसीसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा सभामुख र उपसभामुख चयनबारे छलफल भएको हो । नेकपामा सभामुखका लागि यसअघि तीन जनाको नाम बढी चर्चामा आएको थियो । जसमध्ये नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे र नेता अग्नि सापकोटा । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई अगाडि सारेका छन् भने अर्का अध्यक्ष प्रचण्डले नेता अग्नि सापकोटालाई जिम्मेवारी दिन चाहेका छन् ।

त्यसैगरी तुम्बाहाङ्फेलाई नेकपाकै केही महिला सांसद र राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख बनाउनुपर्ने आशय प्रकट गरिरहेका छन् । पूर्व माओवादीबाट सापकोटालाई सभामुख बनाउनुपर्ने चर्को दवाव प्रचण्डलाई छ । नेकपाको स्थायी समिति बैठकमा एमसीसीबारे उठेका प्रश्न र बैठकले गरेको निर्णयबारे ठोस धारणा कसरी बनाउने भन्नेमा दुई नेताबीच परामर्श भएको बुझिएको छ ।

स्थायी समिति बैठकले एमसीसी यथाअवस्थामा स्वीकार गर्न नसकिने र त्यसका लागि इण्डोप्यासिफिक रणनीतिको अङग नभएको अमेरिकाले प्रस्टिकरण दिनुपर्ने स्थायी कमिटीको कार्यदेश छ । त्यसपछि एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिइएको छ । 

प्रतिक्रिया दिनुहोस