सकियो नेकपा स्थायी कमिटी बैठक, के–के भए निर्णय ?

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १५ : ३९
सकियो नेकपा स्थायी कमिटी बैठक, के–के भए निर्णय ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज सकिएको छ । बैठकले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिको अंग होइन भनी अमेरिकाले पुष्टि गर्नुपर्ने लगायतका निर्णय गरेको छ । 

बैठकपछि नेता भीम रावलले भने, ‘अमेरिकी सरकारले यो इण्डो प्यासिफिकको अंग होइन भन्ने प्रष्ट गर्नुपर्छ । र, यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरु बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्छ ।’

बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ । 

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन  इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीति अंग भएको आशंका गरेका थिए । यदि होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरुको मत थियो ।

स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस