भौतिक पुर्वाधार, उपकरण भरतपुर अस्पतालमा थपिदै, बिरामीले पाउने सेवा झन खस्किदै !

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १० : ४७
भौतिक पुर्वाधार, उपकरण भरतपुर अस्पतालमा थपिदै,  बिरामीले पाउने सेवा झन खस्किदै !

चितवन । केन्द्रिय अस्पतालको रुपमा स्तरोन्नती हुदैं गएको भरतपुर अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेपनि त्यो स्तरको काम हुन सकेको छैन् । वार्षिक ३ लाख ५० हजार भन्दा बढी बिरामीले सेवा लिने यो अस्पतालमा पछिल्लो समय भौतिक पुर्वाधार, थप जनशक्ति, अत्याधुनिक उपकरण जडानलगायतमा स्तरोन्नती गरिएपनि सेवाको क्षेत्रमा भने उल्लेख्य सुधार हुन नसकेको बिरामीहरुको गुनासो छ । 

दैनिक १ हजार ५ सय भन्दा बढी बिरामी यो अस्पतालमा सेवा लिन आउने गरेको तथ्यांक अस्पतालसंग छ । तर अस्पतालले सेवा प्रभावकारी बनाउन नसक्दा बिरामी तथा कुरुवा निकै हैरानी खेप्न बाध्य छन् ।  ६ सय शैंया रहेको अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालको दरबन्दी अनुसार चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी १ सय ७५ जना कार्यरत हुनुपर्नेमा अहिले १ सय ४५ जना मात्र कार्यरत छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र कार्यरत रहेकाले समस्या हुने गरेको बताए ।

अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको स्तरोन्नती भएपनि हालकोे दरबन्दी धेरै न्यून भएकाले स्वास्थ्य सेवा अन्तर्गतका चिकित्सक,नर्स अनमी गरी थप ७ सय ५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरेको बताए । अस्पतालमा विकास समिति अन्र्तगत अहिले ४ सय ८ जना कार्यरत छन् । ति मध्ये ४९ जना चिकित्सक छन् । अस्पतालको सरसफाइमो ठेकेदारमार्फत एक सयजना कार्यरत छन् । चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यो अस्पताल आउने गर्छन् । अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ । 

काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा मात्रै १३ हजार ५ सय ४५ जनाले बच्चा जन्माएका थिए । यस अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालसंग तथ्याङ्क छ । मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो । थियो । प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय स्तरको बनाउने भनिएसंगै भौतिक पूर्वाधार, उपकरण र जनशक्ति पनि त्यही सरह राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिन्छन् । 
 

प्रतिक्रिया दिनुहोस