चन्दा असुल्न बम विष्फोट

पत्रपत्रिकाबाट

मंगलबार, ०१ पुस २०७६, ०७ : २४
चन्दा असुल्न बम विष्फोट

बारा  ।  उद्योगी व्यापारीलाई धम्क्याएर फिरौती असुली गर्ने गरेको आरोपमा पाँच दिनअघि पक्राउ परेका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरूको अपराधको सूची लामो भएको खुलेको छ । अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखी उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी गोविन्द पुरीले बताए । 

‘बम विस्फोट गराउँदै, पैसा असल्ने गरेको खुलेको छ,’ उनले भने, ‘जहाँ जहाँ त्यस्तो घटना गरेका थिए, बयानमा सबै स्वीकार गरिसकेका छन् ।’ डर देखाएर फिरौती असुल्ने गिरोह समातिएपछि पीडित व्यापारीहरूले राहत महसुस गरेका छन् । परवानीपुर–४ का प्रमोदसाह गोढ, देवशंकर राम, जितपुर सिमरा–२० का अच्छेलाल गोसाइँ र फेटा–३ का दीपेन्द्रकुमार धानुक पक्राउ परेका हुन् ।

फिरौती लिएको ३ लाख नगद, मोबाइल र विभिन्न नम्बर भएका सिमसहित परवानीपुर–४ चैनपुरबाट उनीहरू पक्राउ परेका हुन् । एकजना इँटा व्यवसायीलाई पैसा असुल्न बोलाएका बेला प्रहरीले चारैजनालाई पक्राउ गरेको हो । पक्राउमध्ये गोढले इँटा उद्योगी कलैया–२५ का मनोजप्रसाद साह तेलीलाई पटकपटक फोन गरी १५ लाख फिरौती रकम माग गरेको खुलेको छ ।

सुरुमा पैसा माग्दै धम्क्याउने र नदिए बम विस्फोट गराउने गिरोह सक्रिय भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरेर छानबिनका लागि हिरासतमा लिइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । तेलीले पैसा दिन नमानेपछि उक्त समूहले कात्तिक ४ मा उनको उद्योगमा बम विस्फोट गराएका थिए । ‘फिरौती नदिए घरपरिवारसमेतलाई खतरा हुने धम्की दिएका रहेछन्,’ एसपी खनालले भने, ‘त्यही डरले मनोज ३ लाख लिएर बुझाउन जाँदा प्रमोद पक्राउ परेका हुन् ।’ 

पक्राउ गरिएकाहरू धम्क्याएर पैसा असुलीमा सक्रिय रहेको खुलेको उनले बताए । फिरौतीका लागि उनीहरूले विभिन्न व्यक्तिलाई गरेको एसएमएस म्यासेज मोबाइलमा फेला परेको छ । गोढले तेलीलाई पैसा लिएर परवानीपुरमा बोलाएका थिए । गोढ यसअघि अवैध हतियारसहित पक्राउ परेको खुलेको छ । ०७३ चैत २८ मा वीरगन्जबाट हतियार र गोलीसहित पक्राउ परेका उनीविरुद्ध पर्सा जिल्ला प्रहरी कार्यालयले हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो ।

प्रहरीका अनुसार यिनै चारजनाको समूहले प्रसौनी–४ का नन्दकिशोर प्रसाद कुम्हाललाई मोबाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेको र नदिएपछि गत असोज १० मा कुम्हालको घरमा विस्फोट गराएको खुलेको छ । यसैगरी परवानीपुर–४ स्थित नारायणी आयल रिफाइनरी उद्योगमा समेत धम्की दिई फिरौती माग गरेको र त्यहाँबाट पनि पैसा नपाएपछि असोज २ मा बम विस्फोट गराएका थिए । पछि उक्त उद्योगबाट उनीहरूले २५ हजार रुपैयाँ असुली गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस