सहमति नभएपछि मजदूरको शव उठाइएन

विहीबार, २६ मंसिर २०७६, १३ : ०६
सहमति नभएपछि मजदूरको शव उठाइएन

लहान । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।  उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले बिहिबार तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजारमा रहेको मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् ।  

व्यवस्थापनले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार  उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेकी थिईन् । अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् ।  मजदूरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको व्यवस्थापन र मजदूरबीचको वार्तामा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुने जनाइएको छ ।

बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदूर सङ्गठनका प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए ।

वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुष्ट रुपमै  सहमति गर्नुपर्ने मजदूर पक्षको अडान रहेको सचिव देवले बताए । मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग मजदूर पक्षको छ । माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने र आन्दोलन थप चर्काउने मृतक परिवार तथा मजदूरले बताएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस