काठमाडौं । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लाने योजना बनाएका थिए । उक्त घटनाबारे प्रहरीले बेलैमा खबर पाएकाले ठूलो रकम विदेशिनबाट जोगियो ।
उक्त घटनामा सङ्लग्न १८ जनालाई पक्राउ गरी कानूनी कारवाही अघि बढाइसकिएको छ । उनीहरुले बैकबाट निकालेर विदेश पठाउन ठिक्क पारेको ६० लाख बरामद गर्न प्रहरी सफल भयो । अझै पनि घटनामा सङ्लग्न रहेका धेरै एजेन्ट फरार छन् भने विदेशी ह्याकर पक्राउ पर्न सकेका छैनन् ।
उनीहरुले धेरैजसो बैंक र वित्तीय संस्थालाई तारो बनाउँदै आएका छन् । यसरी रकम लैजाने गिरोहले भारतको भूमि प्रयोग गर्ने गरेका छन् । लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका छन् । विदेशी ह्याकर तथा ठगीका गिरोहले सबै घटनामा नेपाली एजेन्ट परिचालन गर्ने गरेका छन् ।
यस्तै घटनामा सङ्लग्न रहेका तीन जनालाई पक्राउ गरी आज मात्रै महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा यसैगरी रु १४ करोड ६७ लाख रकम विदेश गएको खुल्न आएको छ । विदेशमा बसेर प्रविधिको दुरुपयोग गरी उनीहरुले नेपालीलाई प्रयोग गरेर नेपालका वैंक तथा वित्तीय संस्थाको पैसा लगेका हुन् ।
यस्ता घटनामा नाइजेरियन नागरिक पिटर हरम्यान एसेन्जा, स्मीथ मोरिस र १० जना भारतीय नागरिकको सङ्लग्नता रहेको खुल्न आएको छ । उनीहरुले भारतको दिल्ली र मुम्बई तथा पाकिस्तान, चीन, तान्जानिया, बेलायतमा बसी नेपालका नागरिकलाई एजेन्ट बनाइ रकम लाने गरेका छन् । बैंक वित्तीय संस्थासँगै उनीहरुले सामाजिक सञ्जाल या अनलाइनको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको बहानामासमेत व्यक्तिको करोडौँ रकम ठगेर लगेका छन् ।
उक्त गिरोह नेपालका बैंक तथा वित्तीय संस्थासमेत ह्याक गर्ने कार्यमा सङ्लग्न रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताउनुभयो । भाइवर, ह्वाट्स एप, ईमो, फेसबुकलगायत सामाजिक सञ्जालको प्र्रयोग गरी रकम विदेश पठाउने कार्यमा सक्रिय रहेका तीन जनालाई महाशाखाले हालै पक्राउ गरेपछि उक्त कुरा खुलेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका १७ का ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार छन् ।
नेपाली एजेन्टले ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत खाता खोलेर विदेश पठाउने गरेका थिए । उक्त रकममध्ये १५ देखि २० प्रतिशत नेपाली एजेन्टलाई दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत लगेको फेला परेको छ । प्रहरीको अनुसन्धानमा ४० भन्दा बढी नेपाली एजेन्ट उक्त कार्यमा सक्रिय छन् । एउटै एजेन्टले छ भन्दा बढी बैँक खाताबाट कारोवार गरेको र हालसम्म रु १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शङ्कास्पद रुपमा कारोवार भएको फेला परेको छ ।
सोही गिरोहले नेपालको कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको तथा अन्य १७ वटा बैंकलाई उक्त ठगी कार्यमा प्रयोग गरेको पाइएको छ । उनीहरुले बैंक अफ काठमाडाँै, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन, नेविल, लुम्बिनी विकास, माछापुच्छ«्रे, एसबिआई, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टाण्डर्ड च्यार्टर, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंक प्रयोग गरेको पाइएको छ ।
अहिलेसम्म ३४ जना नेपाली घटनामा सङ्लग्न रहेको पाइएको छ । यस्तो घटनामा पीडित भएको भनेर १५ जना प्रहरीको सम्पर्कमा आएका छन् । ठगी गरेको रकम पठाउन प्रयोग भएका बैंकको सफ्टवेयरसमेत ह्याक गरेको हुनसक्ने आशङ्कामा अनुसन्धान जारी रहेको महाशाखाका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि विकास बैंककाे ३० फागुनमा साधारणसभा
कृषि विकास बैंकका वित्तीय सूचकहरूमा सुधार
कृषि विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५० लाख सहयोग
कृषि विकास बैंकको बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने
कृषि विकास बैंकका कर्जाग्राहीले ब्याज छुट पाउने
लक्की मिडिया अवार्डकाे बैकिङ पार्टनर कृषि विकास बैंक