लक्की मिडिया हाउसद्वारा कलाकार तथा व्यवसायीलाई सम्मान

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, १७ : ४०
लक्की मिडिया हाउसद्वारा कलाकार तथा व्यवसायीलाई सम्मान

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । चलचित्र कबड्डी कबड्डी कबड्डी को बिशेष शो अबसर पारेर विभिन्न क्षेत्रमा विशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा सम्मान गरिएको हो । 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चितवनका युवा उद्यमी तथा समाजसेवी रुविन रामुदामु कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको थियो ।
विशेष शोमा झण्डै एक दर्जनलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारतर्फ वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, वरिष्ठ कलाकार लक्ष्मी गिरी रहेका छन् । यस्तै अन्य कलाकारमा चर्चित अभिनेत्री एवं निर्मात्री रोशनी केसी, चर्चित अभिनेत्री बर्षा राउत र रंग पत्रकार विना श्रेष्ठ रहेकी छिन् ।

युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट, समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली र साहासिक साइकल अभियन्ता रुक्मिणी सापकोटा सम्मानित भएका छन् । उनीहरुलाई खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो । कलाकारिता क्षेत्रको विकास र प्रर्वद्धनमा लक्की मिडिया हाउसले गरेको सम्मान तथा विशेष शोको उहाँले प्रशंसा गर्नुभयो । 

लक्की मिडिया हाउसका चितवनका अध्यक्ष बाबुराम अधिकारीले विगतका गरिएका कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मिडिया हाउसले यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो । मिडिया हाउसले संचार माध्यममार्फत कलाकारिता व्यवसाय क्षेत्रलाई पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । 

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की'ले पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त भएको भन्दै नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले विशेष शो र सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आवद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कलाकार, स्थानीय उद्योगी व्यवसायी, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस