मुख्यमन्त्री पौडेलको शिक्षकलाई प्रश्न– विद्यालयभित्र राजनीति किन गर्ने ?

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, १७ : १५
मुख्यमन्त्री पौडेलको शिक्षकलाई प्रश्न– विद्यालयभित्र राजनीति किन गर्ने ?

चितवन । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षकलाई विद्यालयभित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ । उहाँले ज्ञानको मन्दिर (विद्यालय) को हाताभित्र पसेपछि कुनै शिक्षकलाई राजनीति गर्न छुट नदिइएको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘पढाउन आउने शिक्षकले विद्यालयमा राजनीति किन गर्ने ? उसको काम त पढाउने हो ।’

नारायणगढको बालकुमारी माध्यमिक विद्यालयको स्थापनाको ५४ औं वर्ष, विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘विद्यालयभित्र राजनीति गर्नको लागि शिक्षकका संगठनहरु निर्माण गरिएको होइन, पेशागत हकहित र सुरक्षाको लागि हो ।’

उहाँले विद्यालयभित्र राजनीति गर्ने शिक्षकप्रति संकेत गर्दै भन्नुभयो, ‘कुनै शिक्षक राजनीतिकर्मीको रुपमा उपस्थित हुनुभएको छ भने शिक्षक पेशा छोड्नूस्, राजनीति समात्नुहोस् होइन भने विद्यार्थीको पढाइप्रति खेलवाड गरेर राजनीति नगर्नूस् मेरो आग्रह छ ।’

कार्यक्रममा मन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नु पर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइ सँगसँगै सिकाइ पनि हुने शिक्षा सुरुवात् प्रदेश सरकारले गरेको छ ।

मुख्यमन्त्री पौडेलले सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले १० प्रतिशत विद्यालयमा प्राविधिक धारको पढाइ हुन्छ, यसलाई १० प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाउनुपर्छ, यसो गर्न सके कोही बेरोजगार भएर विदेश भासिनुपर्दैन ।’

मुख्यमन्त्री पौडेलले दुई वर्षमा प्रदेश सरकारले धेरै काम गरेको दावी गर्दै शिक्षामा एक विद्यालय एक नर्स कार्यक्रम, सामुदायिक सबलीकरण कार्यक्रम ल्याएको बताउनुभयो । शिक्षा, पर्यटन र कृषि सरकारको मूल आधार भएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेशका १३ जिल्लामा शिक्षा, पर्यटन र कृषिमा प्रदेश सरकारको उपस्थिति मात्र होइन, देखिने गरी काम भएको छन् ।’ 
 

प्रतिक्रिया दिनुहोस