यो वर्ष मह उत्पादन २० प्रतिशतमा झर्ने, बढ्दो विषादीको प्रयोग र चरन क्षेत्रको अभावले किसान संकटमा

प्रकाश सिग्देल

आइतबार, २२ मंसिर २०७६, १८ : ०५
यो वर्ष मह उत्पादन २० प्रतिशतमा झर्ने, बढ्दो विषादीको प्रयोग र चरन क्षेत्रको अभावले किसान संकटमा

– प्रकाश सिग्देल

चितवन । तरकारी फलफुल तथा अन्य कृषि बालीमा बढ्दो रासायनिक विषादीका कारण मौरी पालन व्यवसाय धारासायी बन्दै गएको व्यवसायीहरुले बताएका छन् । विशेष गरी तराईमा तोरी सिजन मौरीको मह उत्पादनका लागि फलदायी सिजन भए पनि तोरीमा अत्याधिक विषादी प्रयोग हुन थालेपछि त्यसले मौरी पालन व्यवसायमा निकै ठूलो असर गरेको मौरी पालक किसान विष्णु भुषालले बताउनु भयो ।

घरमा एक दुई घार आफ्ना लागि पाल्नेबाहेक व्यवसायिक रुपमै मौरी पाल्ने किसानका लागि तोरीको सिजन मुख्य सिजन भएको उहाँ बताउनु हुन्छ । तर तोरीमा अन्धाधुन्द जुनसुकै बेला पनि विषादी छर्ने काम हुन थालेपछि त्यसले मौरी मर्ने र मौरी पालन व्यवसायमा ठूलो चुनौती सृजना भएको उहाँको भनाइ छ । 

यो सिजनमा व्यवसायीहरुले तोरी बारी परिसरमा लगेर मौरीलाई चर्नका लागि छाडेका हुन्छन् । तोरीको रस चुसेर मौरीले मह उत्पादन गर्ने गर्छ । तोरी बारीमा चर्न पुगेको मौरी विषादीको प्रयोगले मर्ने भुषालले बताउनु भयो । चितवनमा ४०० भन्दा बढी व्यवसायीक किसान रहेको छन् । गत वर्ष ८०० मेट्रिक टन बढी मह उत्पादन भएकोमा यो वर्ष त्यसको २० प्रतिशत पनि मह उत्पादन हुने संभावना नदेखिएको मौरी पालन व्यवसायी केन्द्रीय महासंघका अध्यक्ष शिव पौडेलले बताउनु भयो ।

गत वर्ष २३ हजार गोला मौरी रहेकोमा यो वर्ष मरेर १५ हजार गोला पनि मौरी नभएको उहाँको भनाइ छ । यस्तै अवस्था रहेमा मौरी पालक किसानहरु व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था सृजना हुने उहाँको भनाइ छ । 
वायु प्रदुशणका कारण मौरी जन्य बोटबिरुवामा फुल कम फुल्न थालेको, कृषिजन्य उत्पादनमा बढ्दो रासायनिक विषादीको प्रयोगका कारण व्यवसायीहरु निकै ठूलो संकटमा परेको उहाँको भनाइ छ । 
मौरीको उन्नत जातको रानो नहुँदा पनि मौरी घटने क्रम बढेको र मह उत्पादन कम हुँदै गएको किसानहरुको ठहर छ ।

मौरी पालन विकास कार्यक्रम भण्डाराका प्रमुख शिव रिजालले अहिलेकै अवस्था कायम रहने हो भने आगामी दुई वर्षभित्र मौरी पालक किसानहरु यो व्यवसायबाट पूर्ण रुपमा विस्तथापित हुने अवस्था आउन सक्ने बताउनु भयो । गत वर्षदेखि चरन क्षेत्रको समस्या हुन थालेको र दाङ्, प्युठान लगायतका जिल्ला तथा क्षेत्रमा मौरी चरनका लागि बाहिरबाट लान रोक लगाएपछि मौरी व्यवसायमा समस्या भएको उहाँ बताउनु हुन्छ  ।

मौरी प्रवद्र्धन नीतिले निर्वाद रुपमा एक ठाउँबाट अर्को ठाउँमा लान पाउनुपर्ने उल्लेख भए पनि स्थानीय सरकारले त्यसलाई रोकेकाले समस्या भएको र यसका लागि अन्तर मन्त्रालय र अन्तर प्रदेश समन्वय हुनु आवश्यक रहेको उहाँ बताउनु हुन्छ । मौरी चरनले केही नोक्सान नहुने बरु परागसेचनले उत्पादन बढी झन कृषिमा फाइदा पुग्ने रिजालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस