युवकको हत्या गर्ने चार जना आरोपित सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १७ : ०९
युवकको हत्या गर्ने चार जना आरोपित सार्वजनिक

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ मा एक युवकको हत्या गरी शव गाडेका चार आरोपितलाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

भरतपुर–२७ का २६ वर्षका अविनास महतोको हत्याको आरोपमा चितवन प्रहरीले भरतपुर २७ स्थानीय चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो । हत्या आरोपमा पक्राउ पर्नेमा २५ वर्षीय विनोदकुमार महतो, २६ वर्षीय दीपेन्द्र महतो, २७ वर्षका यमकुमार महतो र २० वर्षका विजय महतोलाई प्रकार गरिएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।  

प्रमुख मल्लका अनुसार हत्या गरी शव गाडिएको अवस्था फेला परेको थियो । ‘घटनास्थलको अनुसन्धान गर्दा शवलाई आगो नै लगाएर प्रमाण नष्ट गरिएको देखिन्छ’ एसपी मल्लले भन्नुभयो, ‘पक्राउ पर्नेहरुलाई पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेका छौँ ।’

एसपी मल्लले मृतक अविनासको एक १८ वर्षकी बालिकासँग अनुचित सम्बन्ध रहेको अपुष्ट खबरका आधारमा ती बालिकाको दाजुहरु र आफन्तले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।

‘मृतक अविनाश र ती बालिकाको सम्बन्ध के थियो, वा थिएन वा चिनजानमात्र थियो, यस विषयमा अनुसन्धान भइरहेको छ’ एसपी मल्लले भन्नुभयो, ‘बालिकालाई पनि हामीले अनुसन्धानका लागि राखेका छौँ ।’ मुद्दा शाखाका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी प्रवक्ता एकनारायण कोइरालाले मंसिर १२ गते राति भरतपुर २७ को अन्जना घोलमा ९ बजेदेखि ११ बजेसम्मको बीचमा हत्या भएको र सोही ठाउँमा नै शव गाडिएको बताए । पत्रकार सम्मेलनमा चितवन प्रहरीले क्लिन चितवनअन्तर्गत चालु आर्थिक वर्ष (साउदेखि हालसम्म) मा तीन महिलासहित ७५ पुरुष फरार अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिएको छ ।