गैंडाकोट वन क्षेत्रको ३ हजार भन्दा बढी रुखमा छपान कार्य सकियो, आदेश आए लगत्तै रुख काट्न सुरु गरिने

शुक्रबार, २० मंसिर २०७६, १६ : ४२
गैंडाकोट वन क्षेत्रको ३ हजार भन्दा बढी रुखमा छपान कार्य सकियो, आदेश आए लगत्तै रुख काट्न सुरु गरिने

नवलपरासी । नारायणी पुलदेखि झहरे खोला सम्मको ३ हजार २१८ रुखमा छपान भएको छ । बुटवल नारायणगढ सडक विस्तारको लागि सडक छेउमा परेका रुखहरुको छपानको काम भइरहेको हो । अहिले गैंडाकोट क्षेत्रमा छपानको काम भएको हो । नारायणी पुल देखि झहरे खोलासम्मको ३ हजार २१८ वटा रुख सडकमा पर्ने भएकाले त्यसलाई छपान गरिएको र अब आदेश आउना साथ कटान सुरु गर्ने गैंडाकोट सवडिभिजन वनसहायक अधिकृत ज्योतीप्रसाद कोइरालले जानकारी दिनुभयो ।

वनको छपानीकार्यमा ५ ईन्च डायमिटर भन्दा माथिको र सोभन्दा तलको रुखहरुमा छपानी कार्य भएको हो । थुम्सीदेखि मुकुन्दपुरसम्म नारायणी सामुदायिक वन, मुकुन्दसेन सामुदायिक वन, हनुमान मन्दिर धार्मिक वन र कोटीहोम धार्मिक वन रहेको  छ । नारायणी  सामुदायिक वनमा  ५ ईन्च डायटिरभन्दा माथिका १ हजार ७१ वटा रुखहरुलाई छपानी गरिएको छ भने ५ ईन्च भन्दा तल १९७ रुखहरुलाई नम्बरिङ्ग गरिएको छ । 

त्यस्तै मुकुन्दसेन सामुदायिक वनमा ५ ईन्च डायमिटरभन्दा माथि ८ सय २८ वटा रुखहरुलाई छपानी गरिएको छ भने ५ ईन्च डायमिटर भन्दा तलको रुखहरु २०५ वटा रुखहरुलाई नम्बरिङ्ग गरिएको कोईरालाले बताउनु भयो । हनुमान मन्दिर  धार्र्मिक वनमा ५ ईन्च डायमिटर भन्दा माथि  ७ सय १२ वटा रुखहरु छपानी गरिएको छ भने ५ ईन्च भन्दा तल १९७ वटा रुखहरुलाई नम्बरिङ्ग गरिएको छ । त्यस्तै सिद्धीदात्री कोटि होम धार्मिक वनका ७ वटा रुखहरुमा छपानी गरिएको छ भने छ ईन्च डायमिटर भन्दातलका १ वटा रुखलाई नम्बरीङ्ग गरिएको कोईरालाले जानकारी दिनुभयो । पुर्वी नवलपरासीतर्फ सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खट्टकंटा जंगल क्षेत्र र गैंडाकोट थुम्सी क्षेत्रबाट सुरु गरिएको थियो । गैंडाकोटबाट दाउन्नेसम्म पहिलो खण्डमा काम सुरु गरिएको थियो । ११३ किलोमिटर सडक खण्डको काम  गैंडाकोट खण्ड र बुटवल खण्ड गरी दुई भागमा विभाजन गरी एकै पटक कामको सुरुवात गरिएको हो ।  

सडक निर्माणको जिम्मेवारी पाएको चाईनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ्ग कर्पाेरेसन (सिएससिईसि)ले रुख छपान भए लगत्तै कटान गरी कामलाई तीव्र पार्ने जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस