जसले १३ वर्षदेखि खोसिएको स्वर्ण फिर्ता ल्याए

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १५ : ०१
जसले १३ वर्षदेखि खोसिएको स्वर्ण फिर्ता ल्याए

काठमाडौँ । १३ वर्षअघि नेपालबाट खोसिएको स्वर्ण शुक्रबार फेरि फिर्ता ल्याउने सफल भएका छन् गोपीचन्द्र पार्की । पार्कीले खोसिएको त्यो स्वर्ण जतिबेला फिर्ता ल्याउन सफल भए, त्यतिबेला उनको खुसीमा कुनै सीमा थिएन । त्यो खुसीले उनलाई मात्र हेइन, देशकै उचाइ बढाएको छ । 

१३औं दक्षिण एसियाली खेलकुद सागमा गोपीचन्द्रले गुमेको स्वर्ण खोसेका हुन् । एथ्लेटिक्सको पाँच हजार मिटर पुरुषतर्फ पहिलो स्वर्ण जितेका गोपीचन्द्रले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । 

दौडकै लागि भनेर २०६७ मा सशस्त्र प्रहरीमा भर्ति भए । ६र६ पटक म्याराथन दौडिसकेका थिए । तर नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा भने पाँच हजार मिटरमा झरेर प्रतिस्पर्धा गरे ।

किन त ?
‘म्याराथनमा त मेडल छँदैछ, मैले त ५ किलोमिटरमा राष्ट्रको खोसिएको मेडल फिर्ता गर्नुछ भनेर तल झरेँ,’ गोपीचन्द्र भन्छन् । यसअघि २००६ मा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर डोपिङमा परेपछि उनको पदक खोसियो ।

१३ वर्षअघि नेपालबाट खोसिएको स्वर्ण फेरि फिर्ता ल्याउन सफल हुँदा गोपीचन्द्र खुसीले गदगद् भएका छन् । 
‘दौडनको लागि घरबाट आमा बुबाले बोलाउँदा पनि केही गर्नु पर्नेछ भनेर घर जाँदिन थिएँ। दौडिन कै लागि सशस्त्र प्रहरीमा गएको हुँ’ उनले भने । 

त्यो बेलालाई सम्झिन्छन् गोपीचन्द्र, ‘त्यति खेर नै मेरो मनमा जितेको मेडल खोसिएको रहेछ,  म यो मेडल फिर्ता ल्याउँछु भनेर त्यति खेरबाट  नै दौडिन सुरु गरेँ।’ २०६३ सालमा विद्यालय स्तरीय खेल हुँदा कैलालीको धनगढीमा दौडिए उनी । त्यहाँबाट दौडनकै लागि काठमाडौं आएउनी । 

उनलाई दौडने तालिम आर्मी–पुलिसमा हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि सशस्त्रमा भर्ना भएँ, त्यसपछि तालिम सुरु भयो। तालिममा पनि सँधै अब्बल निस्किन थाले।

सशस्त्रमा हुँदा प्रशिक्षक सुसिलनरसिंह राणाले पनि यसमा क्षमता छ, मौका दिनुपर्छ भनेर मलाई, २०६९ सालमा मलाई एपिएफ क्लबमा झिकाउनुभयो,’ उनी भन्छन्, ‘क्लबमा आएको तीन महिना मै राष्ट्रिय टोलीमा परेँ। अनि एसियन गेम्समा १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान पनि बनाएँ। कारणबस बीचमा मैले म्याराथन खेल्नुपर्‍यो। र दुईटा म्याराथन जितेँ पनि।’

आइएएफको रूटमा नेपालकै उत्कृष्ट टाइमिङ २ घण्टा, २१ मिनेट ०४ सेकेन्डमा कीर्तिमान पनि बनाए। त्यसपछि, फेरि म्याराथन कुदेँ।

‘जित्न नसकुँला त्यो आफ्नो ठाउँमा छ, तर देशबाट खोसिएको मेडल ल्याउनु पर्नेछ भन्ने मलाई थियो। डोपिङका कारण मेडल खोसिँदा नेपाली दर्शकको दुखेको मन सम्झेर नै मैले यो मेडल जितेँ।’ उनले भने, ‘म्याराथनमा त मेडल छँदैछ मैले त ५ हजार मिटर नै खेल्नुपर्छ भन्ने लाग्यो र यसमा खेलेँ खोसिएको स्वर्ण फिर्ता गरेँ । उनका अनुसार १४ वर्षको तयारी हो, यो आजको मेडल।

‘३० वर्ष भएँ। विगत चौध वर्षदेखि तयारी गरिरहेको छु, त्यसैअनुसारको रणनीति बनाएर आएको थिए। पाँच हजार मिटरमा जसरी पनि जित्नु छ भन्ने कुरा मेरो मनमा थियो।’ उनले भने, ‘खोसिएको मेडल फेरि खोस्नु थियो मैले त, मेरो दिमागमा त्यहि नै चलिरहेको थियो,’ स्वर्ण जित्दै गर्दाका ती अविस्मरणीय क्षणको बयान, ‘अन्तिम ल्यापको १ सय १० मिटर दूरीमा म जुनसुकै स्तरको खेलाडीलाई पराजित गरेर पनि जित्न सक्छु भन्ने विश्वास थियो।’

उनी एउटा लक्ष्य पूरा भएको बताउँछन् । ‘पहिलो लक्ष्य भनेको संघ र देशले गुमाएको मेडल ल्याउनु थियो, त्यो पूरा भयो, अब वैकुन्ठ मानन्धरको इच्छा पूरा गर्ने मेरो लक्ष्य हो’ उनले भने ।
 

प्रतिक्रिया दिनुहोस