भारोत्तोलनमा नेपाललाई पहिलो कास्यसँगै कीर्तिमान

रासस

विहीबार, १९ मंसिर २०७६, १५ : ५५
भारोत्तोलनमा नेपाललाई पहिलो कास्यसँगै कीर्तिमान

काठमाडौँ । नेपालकी सङ्गीता राईले १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । 

तेह्रौँं दक्षिण एशियाली खेलकूद९साग० अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी ह्न् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए । 

उक्त खेलमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलङ्काकी सीमारी सामाराकूलले १३९ भार बहन गर्दै रजत जितिन् । श्रीलङ्कन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् । 

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य जितेको छ । 
भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कूल १५७ केजी भार बहन गर्दै श्रीलङ्कन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कूल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बङ्गलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई आजै पदक हस्तान्तरण गरिएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश÷दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५ र ६१ केजी तथा महिलातर्फ ५५ र ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस