दुई दशकको यात्रा : दशैँ मेलादेखि दशौँ रत्ननगर महोत्सवसम्म

सूर्यप्रकाश कँडेल

विहीबार, १९ मंसिर २०७६, १३ : ०१
दुई दशकको यात्रा : दशैँ मेलादेखि दशौँ रत्ननगर महोत्सवसम्म

चितवन । दुई दशकअघि देशभित्र मेला, महोत्सव वर्षमा एक दर्जन जति आयोजना हुन्थे । २०५४ सालमा नारायणगढमा कृषि मेलाको आयोजना ग¥यो तत्कालीन उद्योग वाणिज्य संघ नारायणगढले । २०५५ सालदेखि उद्योग वाणिज्य संघ नारायणगढ (हाल : चितवन) ले चितवन महोत्सव सुरु ग¥यो । त्यसैको सिको गर्दै रत्ननगरमा २०५५ सालमा दशैँ मेलाको आयोजना भयो भने २०५६ सालदेखि रत्ननगर महोत्सव । महोत्सव आयोजनाको यो दुई दशकमा बिजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सवले निरन्तरता पाएका छन् ।
दुई दशकअघि दशैँ महोत्सवको परिस्कृत रुपमा प्रकट भएको रत्ननगरको दशौँ संस्करण आगामी पुस २५ देखि माघ ७ गतेसम्म रत्ननगर नगरपालिकाको टिकौलीचौरमा आयोजना हुन लागेको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सव रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो । रत्ननगर महोत्सवको मुख्य प्रायोजकमा होटल सेभेन स्टार सौराहा रहेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना हुन लागेको रत्ननगर माहोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको छ । हेलिकप्टरबाट स्थानीय पर्यटकीय स्थलहरुको भ्रमणको व्यवस्था त्यसको एउटा उदाहरण हो । रत्ननगर महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मी भन्छन्, ‘रत्ननगर महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।’

विगतकै निरन्तरता
रत्ननगर महोत्सवमा यस वर्ष खासै नयाँ कुरा केही छैन । विगतमा जस्तै यस संस्करणमा पनि शोभायात्रा, साँस्कृतिक कार्यक्रम, विभिन्न परिसर र व्यावसायिक स्टलले निरन्तरता पाउने भएका छन् । आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरले बिहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको छ । 
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति अनुसार यस पटक रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् । पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।
रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीले महोत्सवमा नयाँपन दिन आयोजकलाई आग्रह गरिन् । उनले भनिन्, ‘जहाँ जाँदा पनि महोत्सवमा नयाँ कुरा पाइँदैन । यस पटकको रत्ननगर महोत्सवमा केही नयाँ कुरा देख्न पाइयोस् । पहिलेको भन्दा राम्रो होस् ।’ 

मासुको खपत बढाउन फुड फेस्टिबल
रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने भएको छ । मासुको खपत बढाउन मासुका विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष एवं महोत्सवका आर्थिक संयोजक ज्ञानबहादुर विसुराल, संघका वरिष्ठ उपाध्यक्ष एवं मेला व्यवस्थापन समिति संयोजक अनिलकृष्ण श्रेष्ठ लगायतले बोेलेका थिए ।

प्रतिक्रिया दिनुहोस