नमुना सामुदायिक विद्यालय : विद्यार्थीले घरमा तरकारी ल्याएपछि ...

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १४ : ४४
नमुना सामुदायिक विद्यालय : विद्यार्थीले घरमा तरकारी ल्याएपछि ...

चितवन । विद्यार्थी सिजन नमुना सामुदायिक विद्यालयका कक्षा ८ का विद्यार्थी हुन् । उनी विद्यालय नियमित जान्छन् । कक्षामा मध्यमस्तरका विद्यार्थी हुन् । सिजन नियमित स्कुल जान्छन् । उनले घर फर्कदा स्कुलबाट कहिले काउली बोकेर ल्याउँछन्, कहिले धनियाँ । 

यो उनको बुबालाई थाहा छैन । एक दिन सिजनले स्कुलबाट काउली बोकेर ल्याउँदा उसको बुबाले देख्छन् । सिजनलाई खुब गाली गर्छन् । पढ्न पठाएको छोराले तरकारी ल्याएपछि उनी रिसले चुर भए । छोरालाई पिटुँलाझै गरे । छोराले स्कुलको करेसाबारीमा आफूले रोपेको तरकारी ल्याएको बताउँछ । छोराले यसो भनेपछि उसका बुबा रिसले आगो हुन्छन् । 

‘मैले तलाईँ स्कुलमा पढ्न पठाएको हुँ, तरकारी फलाएर ल्याउनलाई होइन । तैँले तरकारी फलाउन पर्दैन । मसँग टन्न तरकारी किन्ने पैसा छ । म किनेर ल्याउँछु’ सिजनलाई बुबाले खुब गाली गर्दै भने, ‘तैले किन काम गर्ने, मसँग पुस्तौलाई पुग्ने सम्पत्ति छ, तँ त पढ्ने हो । डाक्टर, वकिल बन्ने हो । तरकारी फलाउने किसान बनाउने भए म तलाईँ किन पढाउने ?

छोराको आँखाबाट आँसु खस्छ । बुबा भन्छन्, ‘पख् म भोलि स्कुल जान्छु, यस्तै अवस्था भयो भने स्कुल छुटाउँछु ।’
अर्को दिन...
उनी स्कुल जान्छन् । हेड सरलाई अफिस कोठामा भेट्छन् । जानसाथ रिसाउँदै भन्छन्, ‘मैले मेरो छोरालाई पढ्न पठाएको हो, तरकारी लगाउन होइन, काउली फलाउन होइन, डाक्टर बनाउन हो ।’

हेड सर सम्झाउने प्रयास गर्छन् । उनी केही सुन्दैनन् । बरु चेतावनी दिन्छन् र भन्छन्, ‘भोलि मेरो छोरालाई तरकारी फलाउन काम लगाउनुभयो भने म स्कुलबाट छोरा लान्छु ।’ त्यति भन्दै उनी रिसले चुर हुँदै घर फर्कन्छन् ।’

विद्यार्थी सिजनले बुबाले थाहा नपाउने गरी आमासँग मिलेर स्कुलमा सिकेको सीप घरको कौसीमा प्रयोग गर्छ । सिजनले घरैको कौसीमा धनियाँ, च्याउ, काउली, गाजर फलाउँछ । 
अर्को दिन...
सिजनको घरमा पाहुना आउँछन् । पाहुनाले घरको कौसी देख्छन् । खाना खान्छन्, सिजनको आमाले पाहुनाको अगाडि बल्ल कुरा खोल्छिन् । सिजनले स्कुलमा सिकेको सीप घरको कौसीमा प्रयोग गरी तरकारी फलाएको कुरा खुलासा गर्छिन् । सिजनको बुबाको अगाडि पाहुनाले सिजनको तारिफ गर्छन् ।

आफ्नो छोरो बिग्रेको र अब आफूले पनि सिजन पढ्ने विद्यालयमा विद्यार्थी भर्ना गर्ने बताउँछन् । त्यसपछि बल्ल सिजनको बुबाको  आँखा खुल्छ । पाहुनाले सिजनलाई स्याबास भनेर प्रशंसा गर्दा सिजनको बुबा गदगद् हुन्छन् र छोरासँग आफूले गाली नगर्ने वाचा गर्छन् । पाहुनाले छोरा सिजनजस्तो हुनुपर्छ भनेपछि सिजनको बुबा गदगद् हुन्छन् ।
अर्को दिन ...
सिजनका बुबा स्कुलमा गएर हेड सरसँग माफी माग्छन् । उनी भन्छन्, ‘मैले नबुझेर तपाइँहरुलाई गाली गरें, मेरो छोरालाई सही सीप सिकाउनुभएको रहेछ, व्यवहारिक ज्ञान दिनुभएको रहेछ । मैले यो विद्यालयबाट मेरो छोरा निकाल्दिनँ, मेरो आँखा खुल्यो ।’

विद्यालयका हेडसरले नेपाल सरकारको हरित विद्यालय बनाउने अभियानमा यो नमुना स्कुल पनि हिँडेको बताउँछन् । हरेक विद्यालय हरित विद्यालय हुनुपर्छ, खाली विद्यालयका जमिनलाई करेसाबारी बनाएर तरकारी फलाउनुपर्छ । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हुँदैन, व्यवहारिक प्रयोगात्मक शिक्षा दिनुपर्छ भनेर हेड सरले सिजनका बुबालाई सिकाउँछन् । 

सिजनको बुबा घर आएर टिभी खोल्छन् । जतिबेला शिक्षा सचिव खगराज बरालले हरित विद्यालय बनाउने कुरा बताइरहेका हुन्छन् ।

सिजनका बुबा सिजनसँगै करेसाबारीमा काममा खटिएको दृष्यसँगै भिडियो सकिन्छ । 

उक्त भिडियो चितवनको भरतपुर महानगरपालिकाको नयाँ शैक्षिक निर्धारण गोष्ठीमा विश्व वन्यजन्तु संरक्षण संघले देखाएको हो । भिडियो आधा घण्टाको छ । भिडियोले हरेक सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउन जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस