प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित छ : मन्त्री दुलाल

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १३ : ०३
प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित छ : मन्त्री दुलाल

चितवन । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएको बताएका छन् । भरतपुर महानगरको स्थानीय पाठ्यक्रम लोकार्पण कार्यक्रममा मन्त्री दुलालले  गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले लगानी बढाइरहेको बताए । 
शिक्षाको गुणस्तर वृद्धिमा चरणबद्ध लगानी गरिरहेको बताउँदै मन्त्री दुलालले प्रदेश सरकारको कुल बजेटको १४ प्रतिशत बजेट शिक्षामा छुट्याएको बताए । लगानीले मात्रै गुणस्तर वृद्धि नहुने भएकाले गुणस्तर वृद्धिका लागि बालबालिकाको पोषण, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्रीमा ध्यान दिइरहेको मन्त्री दुलालको भनाई छ । 
मुलुक संघीयतामा गइसकेपछि शैक्षिक गुणस्तरका लागि संघीय सरकार र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले त्यहि अनुसार काम गर्न स्थानीय सरकारलाई आग्रह गरे । व्यावहारिक शिक्षामा अबका योजना कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिए । 
प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा स्कुल बस दिने तयारी भइरहेको उनले बताएका छन् । प्रदेशमा भएका १० वटा विद्यालयलाई स्कुल बस दिने तयारी गरिरहेको उनले बताए । 
प्रदेशमा भएका १ हजार ३ सय ५० वटा सामुदायिक विद्यालयमध्ये १० वटालाई परिक्षणका रुपमा दिने तयारी भईरहेको बताउँदै उनले यसको प्रभावकारिताको आधारमा अन्य स्कुलमा पनि थप्दै जाने बताए । अहिले विद्यालय छनोट भइरहेको मन्त्री दुलालको भनाई छ । 
उनले यसअघि प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको स्कुलमा नर्स कार्यक्रम पनि निक्कै प्रभावकारी भएको दाबी गरे । समावेशी, समतामुलक, व्यावहारिक र गुणस्तरीय शिक्षा निःशुल्क दिने परिकल्पनाका साथ प्रदेश सरकार लागेको मन्त्री दुलालले सुनाए । 

प्रतिक्रिया दिनुहोस