विरोध भएपनि गढीमाईमा साढे ८ हजार बलि

पत्रपत्रिकाबाट

बुधबार, १८ मंसिर २०७६, ०७ : ०८
विरोध भएपनि गढीमाईमा साढे ८ हजार बलि

बारा । गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो ।

पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन्दा बढी पाडाको बलि दिइएको अनुमान गरे पनि मेला व्यवस्थापन समितिले संख्या सार्वजनिक गरेको छैन। समितिका पदाधिकारीले सबै रसिद संकलन भइसकेपछि संख्या यकिन हुने बताए। २५ वर्षदेखि मार हान्दै आएका आदर्शकोतवाल गाउँपालिका–६ टेढाकट्टी गाउँका ५५ वर्षीय महेन्द्र मण्डलले यसपालि पाडाको बलि बढेको बताए।

बरियारपुरका स्थानीय विजय स्वर्णकारले गढीमाईप्रति विश्वास र आस्था बढेकाले धेरै राँगाको बलि दिइएको बताए। पशुअधिकारकर्मीको बलि विरोधी अभियान र सर्वोच्च अदालतको बलि निरुत्साह गर्ने आदेशविपरीत धार्मिक आस्थाका कारण बलि बढेको स्थानीयको स्थानीयको बुझाइ छ।

पाँच वर्ष अघिको मेलामा भारतीय अदालतको फैसलाका कारण त्यहाँबाट आउने पाडाको संख्या घटेको थियो। यसपालि नाकामा कडाइ नहुँदा बलि बढेको स्थानीयले बताए। गढीमाई मेलामा भारतबाट ७० प्रतिशत पाडा आउने गरेको छ। बलि व्यवस्थापन उपसमितिका सचिव भुवनेश्वर पासवानले रंगशालामा जम्मा गरिएको पशुको हिसाब मूल समितिलाई जानकारी गराइसकेको बताए। ‘

हाम्रो जिम्मा बलिका लागि ल्याइएकापाडा व्यवस्थापन गर्नुपर्ने थियो,’ उनले भने, ‘हामीले इमान्दारीसाथ काम पूरा गरेर हिसाब किताब मूल समितिलाई जिम्मा लगाइदियौं।’ पाडा बलि दिने, नदिने सम्पूर्ण जिम्मेवारी मूल समितिको भएको उनले जिकिर गरे। आफूलाई पनि रंगशालामा जम्मा गरिएको पाडाको संख्या थाहा नभएको उनले दाबी गरे।

बलि दिँदाको भिडियो र तस्बिर खिच्न सञ्चारकर्मीलाई पूजा व्यवस्थापन उपसमितिले रोक लगाएको थियो। बलिका लागि मार हान्न यसपालि गढीमाई मेला मूल व्यवस्थापन समितिले कसैलाई अनुमति नदिएको महासचिव मोतीलाल कुशवाहाले बताए। झन्डै एक हजारको संख्यामा खुँडा लिएर मार हान्न युवा जमात ब्रह्मस्थानमा गढीमाईको आशीर्वाद लिन आइपुगेका थिए।

२०३६ सालदेखि मेला व्यवस्थापन मूल समितिसँग अनुमति लिएर मार हान्दै आएका महागढीमाई नगरपालिका १ बरियापुरका ५५ वर्षीय चन्द्रप्रसाद साहले भने, ‘यसपालि मेला समितिले मार हान्न कसैलाई अनुमति दिएको छैन।’ गढीमाई मेलामा बलि दिइएका पशुको आधिकारिक तथ्यांक आफूकहाँ नआएको गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए।
 

बलि हेर्न जाँदा ५१ घाइते 

पाडाको बलि हेर्न तारबार गरिएको रंगशालाको पर्खाल चढ्ने र झर्ने क्रममा ५१ जना दर्शनार्थी घाइते भएका छन्। प्रहरीलाई देखेर हतारमा हामफाल्दा तारले काटिएर उनीहरू घाइते भएको मेलामा सञ्चालित स्वास्थ्य शिविरका इन्चार्ज अजयकुमार सिंहले बताए। ‘घाइते भएकाहरू उपचार गराएर फर्केका छन्,’ उनले भने। बिरामी र घाइते भएर मंगलबार मध्याह्नसम्ममा २ हजार १ सय ६० जना दर्शनार्थी शिविरमा उपचार गराउन आएको उनले जानकारी दिए।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस