भन्सारबाटै भित्रिन्छ अवैध मासु

रासस

आइतबार, १५ मंसिर २०७६, १९ : ३०
भन्सारबाटै भित्रिन्छ अवैध मासु

फाईल फोटो

–नारायण ढुङ्गाना

काठमाडौं ।  सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ । कुखुराको मासुमा मुलुक करिब करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् । वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ । 

दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच÷सात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङ्को धार्केमा नष्ट गरिएको थियो । त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउनुहुन्छ । 

राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दश हजार ८०० किलो कुखुराको मासु भेटिएको थियो । बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ । सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । 

मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशङ्कामा विभागले अनुसन्धान केन्द्रित गरेको छ । “कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ”, एक अनुसन्धान अधिकृतले भन्नुभयो ।

उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो । त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनुपर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलङ्गवा नाकाबाट मासु भित्रिएको छ । अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरुले मलङ्गवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ । 

उनीहरुले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए । अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ । मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । 

मासु आयातमा सङ्लग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताउनुभयो । राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन् । एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ । 

सामान कात्तिक २० गते भित्रिएको हो । उनीहरुले मलङ्गवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो । सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए । थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो । विभागले गाडी मूल्याङ्कनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान रु ७० लाखमा लिलाम गरेको छ । 

 “सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ तर कुनै पनि प्रक्रिया पु¥याइएको पाइएन, सोझै आर्थिक अपराध गरेको देखिन्छ”, महानिर्देशक मैनालीले भन्नुभयो । उक्त कम्पनीले यसअघि पनि ८÷१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ । 

उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ । दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ । विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जना विरुद्ध रु सात अर्ब बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा मात्रै रु दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मु्द्दा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस