भरतपुर विमानस्थल १० दिनको लागि बन्द

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १३ : ३५
भरतपुर विमानस्थल १० दिनको लागि बन्द

चितवन । भरतपुर विमानस्थलको हवाई सेवा आज (आईतबार) बाट १० दिनको लागि बन्द गरिएको छ । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार र पार्किङ बिस्तार गर्ने उद्येश्यले १० दिन हवाई सेवा बन्द गरेको जनाएको छ । 

कार्यालय प्रमुख पवनकुमार गौतमले अहिले रहेको धावनमार्ग जिर्ण भई विभिन्न ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले यसलाई मर्मत सम्भार गर्न विमानस्थल बन्द गर्नुपरेको बताउनुभयो । धावनमार्ग र पार्किङस्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाई काम शुरु गरेको छ । विमानस्थलको मर्मत सम्भारको काम चिसोयाममा राति विस्तार गर्न नसकिने भएकाले दिनमा गर्न लागेको हो । विमानस्थलको रनवेलाई ओभरले गरेर ६० एमएमको कालोपत्रे गरिने छ । विमानस्थलमा उडान र अवतरणको चाप बढेसंगै यसलाइ पनि बिस्तार गर्न लागिएको कार्यालयले जनाएको छ । 

प्रमुख गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्रे गर्न उपयुक्त नभएको र स्थानीयले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने नोटाम (सूचना ) जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । 

नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच-पाँच जहाज काठमाडौँ र एक-एक जहाजले पोखरा उडान भर्दै आएका छन् । 

करीब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । पार्किङस्थलमा अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैंया लागत अनुमान गरिएको छ ।विमानस्थल मर्मतसम्भार भएपछि ठुला तथा साना जहाज उडान र अवतरण गर्न सजिलो हुने कार्यालयको भनाई छ । 

प्रतिक्रिया दिनुहोस