भरतपुर विमानस्थल विस्तारको काम सुरु,  प्राविधिक टोलीले थाल्यो काम

शुक्रबार, १३ मंसिर २०७६, १५ : ५१
भरतपुर विमानस्थल विस्तारको काम सुरु,  प्राविधिक टोलीले थाल्यो काम

चितवन । भरतपुर विमानस्थल विस्तारको काम सुरु भएको छ । प्राविधिक टोलीले विमानस्थल विस्तारको प्राथमिक चरणको काम सुरु भएको जनाएको छ । 

रात्रीकालीन अवतरणसँगै अन्य शहरहरुमा समेत उडान भर्ने गरी भरतपुर विमानस्थल विस्तारको काम सुरु हुन लागेको हो । देशकै मध्येक्षेत्रमा रहेको भरतपुर विमानस्थल दिनप्रतिदिन यात्रुको चाप बढ्दै गएको छ । 

देशकै मध्येभागमा परेको भरतपुरमा यात्रुको चाप बढ्दै गएपछि विमानस्थलको विस्तारको लागि भरतपुर महानगरले चासो दिएको थियो । यसअघि भरतपुर महानगरले पर्यटनमन्त्री योगेस भट्टराईको उपस्थितिमा गरेको सर्वदलीय छलफलमा भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । 

भरतपुर विमानस्थल विस्तारका लागि प्राविधिक टोलीले शुक्रबारबाटै काम थालेका छन् । पहिलो चरणमा प्राथमिक चरणको काम सुरु भएको छ । काम सुरु भएसँगै नागरिक उडड्यन प्राधिकरणअन्तर्गतको उच्चस्तरीय प्राविधिकको टोलीले स्थलगत अनुगमन गरेको छ । 
विमानस्थलको विषयलाई लिएर भरतपुर महानगरले प्राविधिक टोलीसँग शुक्रबार छलफल गरेको थियो । छलफलमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर बिमानस्थलको विस्तारको विकल्प नरहेको बताउनुभयो । 

कार्यक्रममा उहाँले भरतपुर विमानस्थलमा रात्रिकालिन सेवा संचालन गर्ने महानगरको योजना रहेको र सोही बमोजिम काम अगाडि बढाउनसमेत आग्रह गर्नुभएको थियो । प्रमुख दाहालले विमानस्थल रनवे विस्तारका लागि जग्गा अभाव हुने हुँदा हाल रहेको नेपाली सेनाको व्यारेक र घोडा फार्मको जग्गा प्रयोगमा ल्याउने र तिनीहरुलाई स्थानान्तरण गरिने बताउनुभयो ।

‘सेनाको ब्यारेकका लागि दियालो बंगला र घोडा फार्मको लागि र गणेशस्थानदेखि पूर्वको क्षेत्रमा प्रस्ताव गरेर काम अगाडी बढाइएको छ’–महानगर प्रमुख दाहालले भन्नुभयो । भरतपुरबाट देशका अन्य शहरहरूमा उडान सञ्चालन गर्ने व्यवस्थासहितको अत्याधुनिक सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न सोही बमोजिमको डिजाइन गर्न समेत महानगर प्रमुख दाहाले आग्रह गर्नुभयो । 

मापदण्ड विपरीतका घर भत्काइने

विमानस्थल नजिकमा रहेका मापदण्ड विपरीतका घर टहराहरु भत्काइने गृहकार्य अघि बढेको छ ।  
महानगर प्रमुख दाहालले विमानस्थल विस्तारको काम सुरू हुन साथै आवश्यकताअनुसार विमानस्थल वरिपरिका मापदण्ड विपरीतका संरचनाहरू भत्काएर छोड्ने बताउनुभयो । प्रमुख दाहालले पश्चिम चितवनको लाइफलाइनको रूपमा रहेको चौबिसकोठी मेघौली सडक खण्डको विमानस्थल क्षेत्रमा पर्ने त्रिचोकसम्मको सडकलाई अन्डरपासका रूपमा  डिजाइन गर्न प्राविधिकहरूलाइ आग्रह गर्नुभयो । प्रमुख दाहालले मेघौलीमा हाल बन्द रहेको विमानस्थलको पनि आवश्यक पूर्वाधार निर्माण गरी संचालनमा ल्याउन आग्रह गर्नुभयो ।

प्राविधिक अध्ययनको काम अन्तिम चरण 

भरतपुर विमानस्थलको विस्तारको लागि प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । नागरिक उड्ययन प्राधिकरणका सहसचिब तथा भरतपुर विमानस्थल बिस्तार समितिका संयोजक बुद्धिसागर लामिछानेले विमानस्थल विस्तारको प्राविधिक अध्ययनको काम अन्तिम चरणमा रहेको बताउनुभयो । लामिछानेले प्राविधिक पक्ष छिट्टै पूरा गरेर काम थाल्ने बताउनुभयो । 

निर्माणको क्रममा आइपर्ने व्यावधानहरूको व्यवस्थापनमा भरतपुर महानगरको संयोजन चाहिने उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव रूद्रसिंह तामाङ, हवाइ उड्ययन प्राधिकरणका इन्जिनियरहरू हिमज्योति थापा, सलेन्द्र शाक्य, नेपाली सेनाका महासेनानी लीलाबहादुर खनाल, सेनानी विनितराज रेग्मी, भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्नप्रसाद लामिछानेलगायतको सहभागिता रहेको थियो ।

हवाई सेवा दश दिन रोकिने
नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोकिने जनाइएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमले १० दिन हवाई सेवा रोकेर काम गर्न लागिएको बताउनुभयो । 

धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्रे गरिने छ । 

गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्रे उपयुक्त नभएको र स्थानीयले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । 

गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । 

नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच÷पाँच जहाज काठमाडौँ र एक÷एक जहाजले पोखरा उडान भर्दै आएका छन् । 

गौतमले भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो । करीब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस