पोखरामा राप्रपाको शक्ति प्रदर्शन: धर्म परिवर्तन विरुद्ध जनादेश दिऊँ- बोहरा

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, १९ : ५६
पोखरामा राप्रपाको शक्ति प्रदर्शन: धर्म परिवर्तन विरुद्ध जनादेश दिऊँ- बोहरा

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले उप निर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहता विरुद्ध मिनी जनमतसंग्रहको रुपमा हुने बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं-२ को पोखरामा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तन विरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताएका छन् ।

सीमाको सुरक्षा आज राष्ट्रको प्रमुख चुनौतीको रुपमा रहेको बताउँदै नेता बोहराले देशको सिमा रक्षा गर्न नसक्ने सरकारका कारण आज देशभक्तहरु लज्जित हुनुपरेको स्पष्ट पारेका छन् ।

सरकारले सिमा मिचिएको विषयलाई कुटनैतिक ढंगबाट समाधान खोजिनु पर्नेमा राष्ट्रियता जस्तो संवेदनशील विषयमा हेलचक्रयाईँ गरिनु र जनतालाई आश्वस्त नपारिनु दु:खद भएको टिप्पणी गरेका छन् ।

राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्ट दुवै नेपालको बर्बादीको सहयात्री भएकाले विकल्पको रुपमा रहेको राप्रपालाई साथ, सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । देशको प्रमुख समस्या भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्या, सीमा रक्षा, धर्म परिवर्तन रहेको दृष्टान्त प्रस्तुत गर्दै महामन्त्री लिङ्देनले उप निर्वाचन मार्फत असफलतालाई निरन्तरता नदिन र भ्रष्टाचारलाई अनुमोदन नगर्न अपील गरेका छन् ।

जातीय आधारमा संघीयता र ११ प्रदेशको माग गर्नेहरुले देशको विकल्पको रुपमा आफूलाई प्रस्तुत गरिरहेको सन्दर्भमा महामन्त्री लिङ्देनले संघीयता देशले धान्न नसक्ने अवस्थामा पुगिसकेको र जातीय संघीयता पक्षधरहरु कहिल्यै विकल्पको रुपमा हुन नसक्ने ठोकुवा गरेका छन् । अहिले राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै लिङ्देनले देश भन्ने चिज भुगोल र माटोले मात्र नबन्ने सिक्किमको उदाहरणबाट सिक्न र राष्ट्रियताको पक्षमा एकजुट हुन पनि आव्हान गरेका छन् ।

कास्की-२ मा राप्रपाका उमेदवार रोमबहादुर भण्डारीले विगतमा पनि आफू जनप्रतिनिधि रहेको र निस्कलंकित भएकोमा गर्व गर्दै फेरि पनि पोखराको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरे । पिता पुर्खाले दुई छाक खान सक्ने बनाइदिएका छन्, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर पोखराको सेवामा लाग्ने प्रण गर्दै उमेदवार भण्डारीले राजनीतिलाई पेशाको रुपमा लिनेहरुको कारणबाट राजनीति बदनाम भएको र आफ्नो बिजय भएमा सेवा सुविधा मार्फत प्राप्त हुने कुनै पनि रकम नलिने घोषणा गरेका छन् ।

आमसभामा राप्रपाका गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङ, सहायक महामन्त्री विन्दु पौडेल, केन्द्रीय सदस्य मधु अधिकारी, जयलाल पुन, युवा संगठनका अध्यक्ष बिजय भण्डारी, विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल लगायतले हिन्दु राष्ट्र पुनःस्थापनाको पक्षमा जनमत प्रकट गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस