सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका स्कुल बसलाई कारवाही गर्ने चेतावनी

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, १८ : १४
सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका स्कुल बसलाई कारवाही गर्ने चेतावनी

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका स्कुल बसलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीले आयोजना गरेको गैंडाकोट नगरपालिकाका निजि विद्यालयका सन्चालकहरुसँग स्कुल बसको सुरक्षा बिद्यार्थीको सिट संख्या र बिद्यार्थी बोक्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा भएको छलफलका क्रममा यस्तो निर्देशन दिएको हो ।

नवलपुर ट्राफिक प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गंैडाकोट नगरपालिका भित्र सञ्चालनमा रहेका निजि बिद्यालयका प्रिन्सिपलहरुसँग छलफल गरेको थियो ।

सो क्रममा ट्राफिक प्रमुख मुनेन्द्र थापाले ट्राफिक नियम पूर्ण रुपमा पालना गर्न र गराउन आग्रह गर्नु भयो । बसले सिट क्षमता भन्दा धेरै बिद्यार्थी बोक्ने सानासाना बालबालिकाले उठेर यात्रा गर्नु पर्ने अवस्था सृजना भएपछि कार्यालयले बिशेष अभियान थालेको थापा बताउनु हुन्छ ।

उहाँले शिक्षण संस्थाका प्राचार्यहरुले सकेसम्म आफ्नो विद्यालयको बसको रङ्ग पहेलो लगाउनु पर्ने बताउनु भयो । विद्यार्थीहरुलाई बसमा उभिएर यात्रा गर्न दिन नहुने थापाले बताउनु भयो । कार्यक्रममा गैंडाकोट नगरपालिका अन्तर्गत रहेका विद्यालयका प्राचार्यहरुको उपस्थिीती रहेको थियो । त्यस्तै गैंडाकोट नगरका प्रहरी ईन्चार्ज  दिपक कार्कीले आफ्नो विद्यालयको बस चलाउने चालकको लाईसेन, विलबुकहरुलाई राम्रोसँग चेकजाँच गर्नु पर्ने बताउनु भयो । साथै उहाँले प्राईभेट गाडीहरु विद्यालयको छन् भने त्यस्तो बसहरुमा व्यानर बोर्ड बस अगाडि लगाउनु पर्ने बताउनु भयो । 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले गैंडाकोट नगरपालिका भित्र रहेको विद्यालयका बसहरुको चालकहरुलाई शनिबार समय मिलाएर ट्राफिक नियमको विषयमा अन्तक्रिया दिने बताउनु भयो । साथै उहाँले गैंडाकोट नगरपालिका शिक्षा शाखाले गर्नु पर्ने सहयोगहरु सदा गर्ने प्रतिबद्धता गर्नु भयो । 

कार्यक्रममा निजि बिद्यालयका सन्चालकहरुले आफुहरुले बिद्यार्थीलाई स्कुलसम्म ल्याउँदा र घरसम्म लाँदा जति सक्दो सहज वातावरण निर्माण गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस