नरभक्षी चितुवा नियन्त्रण गर्न वनमा खोर

रासस

आइतबार, ०८ मंसिर २०७६, १४ : ४७
नरभक्षी चितुवा नियन्त्रण गर्न वनमा खोर

दमौली । चितुवा नियन्त्रणका लागि तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आईतबार एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । उक्त चितुवालाई बुटवलको मणिमुकुन्द सेन पार्कमा रहेको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । सहायक वन अधिकृत उप्रेतीका अनुसार उक्त चितुवा अन्दाजी ८÷९ वर्षको रहेको छ । “उक्त चिडियाखानमा एउटा भाले चितुवा पनि रहेछ, त्यही भएर पोथी चितुवालाई त्यहाँ स्थानान्तरण गरिएको हो,” उप्रेतीले भन्नुभयो ।

भानुमा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । खोर निर्माण गरिएपछि दुई भाले र दुई पोथी गरी चारवटा चितुवा नियन्त्रणमा आइसकेको छ । यसअघि असोज १६, कात्तिक ११ र कात्तिक २६ गते काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो ।

खोरमा परेको चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा र दुई वटालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो । भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

हाल यहाँका पाँच सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि ६ वटा परम्परागत काठको खोर राखिएको छ । तीनवटा काठको खोर निर्माणाधीन अवस्थामा छ । देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन र भीमसेनथुम्की सामुदायिक वनमा एक÷एक र मजुवा ओख्ले सामुदायिक वनमा दुईवटा काठको खोर राखिएको छ ।

चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि केही दिनअघि मात्रै डिभिजन वन कार्यालय र भानु नगरपालिकाले खोर बनाउने व्यक्ति र सामुदायिक वनहरुलाई नगदसहित पुरस्कृत गरेको थियो । चितुवा नियन्त्रणका लागि यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पनि प्राविधिक परिचालन भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । (रासस)
 

प्रतिक्रिया दिनुहोस