चलचित्र ‘शुभ लभ’ युरोप टुरमा जाने

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १४ : ५९
चलचित्र ‘शुभ लभ’ युरोप टुरमा जाने

काठमाडौं। बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ । आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जनाए ।
नेपालमा मध्यम व्यापार गरेको उक्त चलचित्रले युरोप प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ । युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ । त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह–नायिकाको भूमिका देख्न सकिनेछ ।
चलचित्रका लाईन प्रोड्युसर प्रकाश कडरिया युरोप निवासी भएकोले युरोपमा चलचित्रको राम्रो प्रदर्शन हुने निर्माण पक्षले अपेक्षा लिएको छ । लोहनीले भने,‘हाम्रो चलचित्रको लाईन प्रोड्युसर नै युरोपनिवासी हुनुहुन्छ, युरोपमा गैरआवासी नेपाली र ईनासको बाक्लो उपस्थिति छ, त्यसैले युरोप शो व्यापक हुने हाम्रो विश्वास छ ।’
नेपालमा पनि राम्रो व्यापार गर्ने अपेक्षा हुँदाहुँदै पनि रिलिज मिति राम्रो नहुँदा र चलचित्रकर्मीहरुबीच नै अस्वस्थ प्रतिष्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकिएको लोहनीको गुनासो छ । यद्धपी उनले उक्त चलचित्र हेर्ने दर्शकहरुले राम्रो चलचित्र बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए । उनले थपे,‘चलचित्रकर्मी र समिक्षकहरुले पनि राम्रो चलचित्र बनेको भनेर भन्नुभएको थियो ।’
अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको टाईटल गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ गीत अत्यधिक रुचाईएको थियो । चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो । चलचित्रको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए । 

प्रतिक्रिया दिनुहोस