समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने

पार्टी नेता कार्यकर्तालाई थामथुम पार्ने प्रयास मात्र, सरकार र राजपासँगको एकताको विषय जस्ताको तस्तै

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, ११ : १८
समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने

काठमाडौं । सरकारमा सहभागी दल समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समितिको बैठक तीन दिन लगाएर काठमाडौंमा सम्पन्न भयो ।
पार्टी एकतापछि बसेको पहिलो संघीय परिषद र केन्द्रीय समिति बैठकले राजपासँगको पार्टी एकता र सरकारको सहभागिताका विषयमा ठोस निर्णय गर्ने बताइएको थियो । यो बैठकले यी दुवै विषयमा एउटा ठोस निष्र्कष निकाल्ने नेताहरुको भनाई थियो । तर तीन दिन अगाडि जुन स्थितिमा समाजवादी थियो, बैठक सकिँदा पनि त्यही स्थितिमा छ ।
समाजवादी पार्टीले न सरकार छोड्ने वा नछोड्ने विषयमा कुनै निर्णय लिन सक्यो, न त राजपासँगको एकताकै विषय टुंग्याउन नै । अहिले यी दुवै विषयको अन्तिम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिने निर्णय समाजवादीको पार्टी बैठकले गरेको छ । ‘यो भनेको टालटुले निर्णय हो’ समाजवादीका एक नेताले भने ।
केन्द्रीय समिति र संघीय परिषदमा उठेका नेताहरुको सुझावलाई टालटुल पार्ने गरी पदाधिकारीमा निर्णय अधिकार दिएर नेताहरुले पार्टी बैठक टुंग्याएको नेताहरुकै भनाई छ ।
समाजवादीले तत्काल सरकार छोड्न सक्ने अवस्था छैन । सरकारको नेतृत्व गरिरहेको दल नेकपाले उसलाई हटाएमात्र फरक कुरा हो, नत्र समाजवादी अहिले सरकार छोड्न चाहँदैन ।
यसभित्रका आन्तरिक कारण पनि छ । समाजवादी स्रोत भन्छ, उपेन्द्र यादव अहिले सरकारबाट बाहिरिन चाहँदैनन् । उनले पार्टी नेताहरुलाई स्वास्थ्यका विभिन्न टेन्डर योजना आफुले अगाडि सारेको र सरकारबाट तत्काल हट्दा ती योजनाहरुको ठेक्का मिलाउन नसकिने भएकोले पनि सरकार छोड्न नहुने तर्कमा यादव छन् । यो कुरा उनले पार्टी शीर्ष नेताहरुलाई गुप्त रुपमा भन्ने गरेका पनि छन् ।
समाजवादीले तत्काल सरकार नछोड्ने भएको छ । त्यही भएर बहुसंख्यक नेताहरुको सरकार छोड्न आएको दबावलाई टाल्ने योजना अन्तर्गत आएको योजनामात्र हो ।

प्रतिक्रिया दिनुहोस