कीर्तिपुर मैदानमा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करको टोली विजयी

सफल खबर संवाददाता

शनिबार, ३० कार्तिक २०७६, १२ : ४४
कीर्तिपुर मैदानमा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करको टोली विजयी

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले शनिबार दिउँसो टियु मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् । सचिन र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दासको टोलीले आठ ओभरको मैत्रीपूर्ण सद्भावना क्रिकेट खेल खेलेको हो ।
संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको अवसरमा यूनिसेफले नेपालमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । बालअधिकार सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा सचिनको टोली नौ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको विनोद दासको टोलीले निर्धारित आठ ओभरमा चार विकेटको क्षतिमा ४४ रन बनाएको थियो ।

४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकिपरको तीनवटै भूमिका निभाएर समर्थकलाई मनोरञ्जन दिए । सचिनले सात रन बनाएका अन्य खेलाडीलाई मौका दिएका थिए । अन्तिम बलमा चौका हानेर सचिन बाहिरिए । नेपालका विनोद दासले एक विकेट लिए ।