बहुराष्ट्रिय कम्पनीका नाममा कोकाकोलाको दादागिरी

उपभोक्ताको अधिकार समेत हनन् गरिरहेछ कोकाकोलाले

सफल खबर संवाददाता

शनिबार, ३० कार्तिक २०७६, ११ : ५९
बहुराष्ट्रिय कम्पनीका नाममा कोकाकोलाको दादागिरी

चितवन । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको ज्यादती चरम भएको भन्दै स्थानीयहरुले वडा कार्यालयमा निबेदन दिएका छन् । स्थानीय टोल सुधार संस्थाका जिम्मेवार ब्यक्तिहरु समेत कोकाकोलाकै भजन मण्डली भएपछि  स्थानीयहरु स्वतस्फुर्त रुपमा सक्रिय भई वडा नम्बर ९ को कार्यालयमा निबेदन दिएका हुन् । 

आफूहरु अब कानुनी रुपबाटै अगाडि बढ्ने र कुनै पनि हालतमा यसको ज्यादती रोकिछाड्ने स्थानीय युवा तेज अर्याल बताउनु हुन्छ । वडा कार्यालयहँुदै महानगर र महानगरबाट पनि समस्या समाधान नभए  संसदीय सरोकार समितिमा समेत निबेदन दिनका लागि आफूहरुले तयारी गरेको र आवश्यक परे अदालतसम्म पनि जाने  कोकाकोलाको प्रदुषण बिरुद्ध संघर्ष समितिमा सक्रिय युवा तेज अर्याल बताउनु हुन्छ । यो कम्पनीले बहुराष्ट्रिय कम्पनीका नाममा दादागीरी देखाउँदै आएको स्थानीयलाई मान्छे नै नठान्ने गरेको भन्दै अब आन्दोलन कडा हुने स्थानीयहरु बताउँछन् । 

कम्पनीको ज्यादतीका बिरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गरेका हुन् । आन्दोलनपछि वार्ता गर्ने र आश्वासन मात्रै दिने गरेकाले यस पटक आफूहरु कडा रुपमा प्रस्तुत भएको स्थानीय बासिन्दाहरुको भनाई छ । स्थानीयका अनुसार यहाँ कारखानाले धेरै काम अवैधानिक रुपमा अर्थात् अनुमति नै नलिई सन्चालन गर्दै आएको छ । नियमनकारी निकायले निगरानी र निरीक्षण नगर्दा यसले मनोमानी गर्ने छुट पाएको हो ।

कोकाकोलाको बालाजु काण्ड 
सरकारी नियम नमान्ने र मनपरी गर्ने कोकाकोला कारखानाको सुरुवातदेखि कै प्रबृत्ति भएको र अहिले पनि उही प्रबृत्ति हाबी भएको स्थानीयहरु बताउँछन् । कोकाकोलाका यसअघिका धेरै उदाहरणहरुले यस्तै देखाएको छ । आजभन्दा ३ वर्ष अगाडि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको कोकाकोला कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सन्चालनमा रहेको भेटिएको थियो । २०७३ साल असोज १२ गते नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले गरेको अनुगमनका क्रममा २०४१ सालदेखि त्यो मितिसम्म  अनुमतिपत्र नलिई सन्चालन भइरहेको भेटिएपछि जरिवाना समेत भएको थियो ।  

कार्यालयका प्रमुख शशिभूषण यादवले अनुमतिपत्र नलिई कम्पनी सन्चालनमा रहेको उजुरी आएपछि अनुगमन गर्दा कोकाकोलाजस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सन्चालन गरिरहेको भेटिएकोले  जरिवाना गरिएको  बताएका थिए । 

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड, भरतपुरमा सरकारी अधिकारीहरु कसैले पनि अनुगमन गर्ने, कागजपत्र हेर्ने आँट नगर्दा कम्पनीले दादागिरी गर्ने छुट पाइरहेको स्थानीयहरु बताउँछन् । जिल्लाको सबैभन्दा ठुलो अधिकार प्राप्त अधिकारी प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सहमति त कार्यान्वयन नगर्ने यो कम्पनीले अरु मानिसलाई त मान्छे नै नमान्ने गरेको स्थानीयहरु बताउँछन् । 

जर्जियाको एटलान्टाबाट सुरू भएको यस कम्पनीले आज नेपाल जस्ता धेरै देशमा उद्योग बिस्तारको नाममा नागरिकमा आत्ांक सृजना गरी आफनो कमाउधन्दा मच्चाइरहेको छ । हाम्रो जल, जमिन, प्राकृतिक स्रोत, वन र वन्यजन्तु भावी पुस्ताका लागि सुरक्षित राख्न जरुरी भएकाले कोकाकोला कम्पनीले निम्त्याएको समस्या स्थानीयको समस्यामात्र नभै संरक्षणकर्मीका लागि समेत ठुलो चुनौति भएकाले कोकाकोलाबिरुद्ध सबैले आवाज उठाउनु पर्ने त्रिभुवन विश्वविद्यालयका ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता कमल घिमिरेले बताउनु भयो ।

बेलाबेलामा आन्दोलन
कारखाना वरपर प्रदूषणको आतंक मच्चाइरहेको कोकाकोला कम्पनीका बिरुद्ध स्थानीयले मात्र होईन ब्यवसायीले समेत बेलाबेलामा आन्दोलन गरेका छन् । हल्का पेयपदार्थ वितरक समाजले २०७३ साल साउनमा एक साताभन्दा बढी आन्दोलन गरेका थिए । हेटौंडादेखि मेचीसम्मका ५१ प्रमुख वितरकहरुले कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडलाई चारबुँदे माग राख्दै कोकाकोला बिक्री वितरण बन्द गरेका थिए ।  

जनकपुर निवासी समाजका कोषाध्यक्ष कौशल किशोर साहले कम्पनीले डिलर्सलाई कोकाकोला बिक्री वितरण गर्न मात्र लगाउने र आफूखुशी गर्न थालेपछि चार बुँदेमाग राखेर बिक्री वितरण बन्द गरेको बताएका थिए । कम्पनीले आफ्नो व्यापार बढ्नासाथ त्यहाँको स्थानीय डिलरको पहिलेको एरिया काटेर अर्को नयाँ डिलर थप्ने, डिलरको भावना विपरीत मनोमानी  गरेको भन्दै ब्यवसायी आन्दोलित बनेका थिए । कम्पनीले चाहेमा जुनसुकै बेला डिलरशीप काटिदिने रवैया बढेको उनीहरुको दुःखेसो थियोे । 

कोकाकोला निर्माणको फर्मूला गोप्य
अझै गम्भीर बिषय त कोकाकोला निर्माणको फर्मूला गोप्य राख्नु नै रहेको छ । कोकाकोलाको खास स्वादको रहस्य अनि फर्मूलाचाहिँ के हो त ? यो जान्न पाउने उपभोक्ताको अधिकार हो तर यो कम्पनीले कोकाकोला तयार गर्ने मूल सूत्र एकदम गोप्य राखेको छ । यो फर्मूलालाई लिएर सधैँ विवाद हुँदै आइरहेको छ । कति पटक यसको फर्मूला सार्वजनिक हुने कुरा उठेपनि आजसम्म यो सम्भव हुन सकेको छैन । 

कोकाकोलाको यो गोप्य फर्मूलालाई लिएर जति विवाद भएपनि यसको फर्मूलाको बारेमा भने कम्पनीकै आधिकारिक व्यक्तिहरूलाई पनि थाहा नभएको अधिकारीहरु बताउँछन् । यो कम्पनीको हदैसम्मको दादागीरी भएको तर्क धेरैको छ । उपभोक्ताले आफूले खाने चिज कसरी बन्यो भनेर समेत जान्न नपाउने यो कस्तो उपभोक्ता अधिकार हो ? यसमा अधिकारकर्मीहरुले आवाज उठाउन जरुरी छ । 

उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका बरिष्ठ उपाध्यक्ष बिष्णु भुषालले उपभोक्ताका लागि तयार भएका हरेक बस्तु के र कसरी बनेको छ ? त्यसमा कुन मात्रा कति छ ? सबै कुरा प्रस्टसंग खुल्नु पर्ने बताउनु हुन्छ । यो कोकाकोलाको मात्रै बिषय नभै सबै उपभोक्ताको बिषय भएकाले यो  बिषयमा राज्य गम्भीर बन्नु पर्ने उहाँको तर्क  छ । 

प्रतिक्रिया दिनुहोस