कोकाकोला कम्पनीका कारण मरुभूमिकरण निम्त्याउने जोखिम, निकुन्ज र बरण्डाभार क्षेत्र पनि खतरामा

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १३ : १०
कोकाकोला कम्पनीका कारण मरुभूमिकरण निम्त्याउने जोखिम, निकुन्ज र बरण्डाभार क्षेत्र पनि खतरामा

चितवन । संविधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानीय बासिन्दाको दीर्घकालीन उपयोगको अधिकार कोकाकोला कम्पनीले हनन गरेको छ ।

हजारौँ वर्षसम्म उपयोगमा ल्याउनुपर्ने जमिन मुनिको पानीको अत्याधिक प्रयोग गरी कोकाकोला कम्पनीले मरुभूमिकरण निम्त्याउने जोखिम बढाएको त्रिभुवन विश्वविद्यालयका व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अनुसन्धान कर्ता कमल घिमिरेले बताउनुभयो ।

कोकाकोला कम्पनी भारत र चीनका केही स्थानबाट यही कारणले हटाइएको बताउँदै उहाँले यसका कारण मानव जीवनमात्र होइन जलचर थलचर जीव र बनस्पती सबैमा ठूलो असर पुगेको दावी गर्नुभयो ।  

अहिले स्थानीयहरु कोकाकोला कम्पनीका कारण आसपासका क्षेत्रमा बस्नै नसकिएको अवस्था सृजना भएको भन्दै आन्दोलन थालेका छन् । विगतमा पनि आन्दोलन भएको र स्थानीय सामु गरेको प्रतिबद्धता समेत यसले कार्यान्वयन नगरेको भन्दै स्थानीयहरु अहिले वार कि पारको आन्दोलन थालेको बताएका छन् ।

स्थानीय युवा तेज अर्यालले अबको आन्दोलन प्रभावकारी र सशक्त गरिने बताउँदै कारखानाका कारण स्थानीयहरु घर बस्नै नसकिने अवस्या सृजना भएको प्रतिक्रिया दिनुभयो । आफूहरु वडामा निवेदन दिने तयारी गरेको बिहीबार नै निवेदन हाली  थप आन्दोलनमा लाग्ने बताउनुभयो ।

अहिले स्थानीयमा ध्वनि र वायु प्रदुषणको मुख्य असर परेको छ । अरु अप्रत्यक्ष असरको त कुनै लेखा जोखा नै नभएको स्थानीयहरु बताउँछन् । यसको ध्वनी प्रदुषणका कारण  मानिसमा निद्रा नलाग्ने, चिटचिटाहट हुने र झर्को लाग्ने, खान मन नलाग्ने समस्या देखिएको छ । यसका कारण दीर्घकालमा मानसिक सन्तुलन गुम्ने अवस्था सृजना हुने अनुसन्धान कर्ता कमल घिमिरेले बताउनुभयो ।

त्यस्तै यसले फाल्ने विषालु ग्यास पदार्थहरुले मानिसमा ऋदय घात हुने, फोक्सोको क्यान्सर हुने उहाँको भनाइ छ । त्यस्तै बनस्पतिमा पनि ठूलो असर गर्ने उहाँले बताउनु भयो । यसको प्रदुषित हावा पानीसँग मिलेर सल्फ्युरिक एसिड र नाइटिक एसिड बन्ने त्यसले अम्लीय वर्षा हुने जसले गर्दा मानिस तथा वनस्पतिमा निकै जोखिम हुने उहाँको भनाइ छ ।

त्यस्तै, यसले फाल्ने पानीका कारण  बायोलोजिकल अक्सिजन डिमाण्ड घटाइदिने अर्थात् पानीमा हुने अक्सिजन घटाउने जसका कारण पानीमा हुने वनस्पति र जीवजनावरमा नकारात्मक असर पर्ने र जनावर मर्ने समस्या सृजना हुने उहाँले दावी गर्नुभयो । गँैडा, बाघ, गोही, माछा खाने चरालगायतका पानी खाने सबै जनावर र पानीमा बस्ने जनावरलाई यसका कारण निकै ठूलो असर पर्ने गरेको उहाँको भनाइ छ ।

त्यस्तै, जमिन मुनिको सतहमा रहेको पानीको अत्याधिक प्रयोगले मरुभूमिकरण निम्त्याउने चितवन राष्ट्रिय निकुन्ज र बरण्डाभार कोरिडोर धरापमा पर्ने २० हजारी र राइनो ताल सुक्ने जसले गर्दा जैविक विविधतामा ज्यादै नकारात्मक असर पर्ने उहाँको दावी छ । यो कारखानाले दुईवटा बोरिङको अनुमति लिएर चार वटा खनेको बताइएको छ । जसले किन्ले वाटरसमेत यही उत्पादन गरेको छ । यसका कारण जमिन मुनिको पानीको सतह पुरै सुक्ने र जमिन भाँसिदै जाने कालान्तरमा मरुभूमिकरणमा पैदा हुने उहाँले दावी गर्नुभयो । जमिन मुनिको पानीको प्रयोग गर्ने अधिकार कारखानालाई नभएको भन्दै नारायणीको पानी शुद्धीकरण गरी प्रयोग गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस