मन्त्री बन्न नेताहरूको दौडधुप

पत्रपत्रिकाबाट

बुधबार, २७ कार्तिक २०७६, ०७ : ४०
मन्त्री बन्न नेताहरूको दौडधुप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् ।

यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँजसो छलफल गरिरहेका छन् । पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका मन्त्रीहरू फेरबदल गर्ने र त्यसमा नयाँ व्यक्ति कसलाई लैजाने भन्ने विषयमा दुई अध्यक्षबीच लेखाजोखा भइरहेको स्रोतले जनाएको छ ।

‘नयाँ ढंगले अघि बढ्न टिममा केही हेरफेर गर्ने मनसाय प्रधानमन्त्रीबाट आएपछि गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद् हेरफेर हुन सक्छ ।’ यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चा चल्ने गर्थ्यो । अहिले भने गम्भीरतापूर्वक नै पुनर्गठनको तयारी भइरहेको ती नेताले बताए ।
सत्ता साझेदार समाजवादी पार्टीको पनि सरकारमा बस्नेरनबस्ने टुंगो गर्न संघीय परिषद् र केन्द्रीय समिति बैठक हुँदै छ । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेकाले ३० गतेअघि मन्त्रिपरिषद् फेरबदल नहुने नेकपाका नेताहरूले बताएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन गत शुक्रबार नै भनिसकिएको छ । सचिवालय र मन्त्रीहरूमध्ये राम्रा काम गरेकालाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउने र बाँकीमा नयाँ व्यक्तिलाई ल्याउने तयारी छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस