‘साक्षीलाई बन्धक बनाई बयान फेर्न लगाइयो’

पत्रपत्रिकाबाट

बुधबार, २७ कार्तिक २०७६, ०७ : ११
‘साक्षीलाई बन्धक बनाई बयान फेर्न लगाइयो’

रौतहट ।  राजपुर बमकाण्डको मुद्दा अदालतमा थुनछेक बहस चलिरहेको बेला घटनाका साक्षीहरुलाई अपहरण र त्रासमा पारेर बयान फेर्न लगाइएको खुलासा भएको छ । राजपुर घटनाका घाइते भारतीय नागरिक गौरशंकर रामलाई आलम पक्षका 'मानिस' ले बन्धक बनाई बयान फेर्न लगाईएको मंगलबार खुलासा भएको हो । अन्य साक्षीलाई समेत धम्की दिइन थालिएको प्रहरीले जनाएको छ । राम अहिले प्रहरीको शरणमा पुगेका छन् ।  

भारतको बिहार सितामाढी घर भएका रामको बयान फेरिएको निवेदन बोकेर सोमबार अभिवक्ता श्रीवास्तव न्यायाधीश दिपक ढकालको इजलासमा पुगेका थिए। उनी प्रहरीको अनुसन्धानमा दह्रो साक्षीको रुपमा छन्। आलमका मानिसले अपहरण शैलीमा लगेर बयान फेर्न लगाएको रामले बताए। घटनाको यथार्थ बताउँदा आफूले आलम पक्षका मानिसबाट धम्की र अपहरणको शिकार बन्नु परेको सुनाए। ‘आलमका मानिस आएर घरबाट लगेर चार दिनसम्म धम्क्याए। बयान फेर्न भने। पैसाको लोभ देखाए,’उनले भने, ‘अदालतमा बयान फेरेको सत्य होइन। म स्टोभ पड्केर घाइते भएको होइन। राजपुर घटनामै परेर घाइते भएको हुँ।
घरमा बसिरहेको बेला चारजना गाडी लिएर रामको घर पुगेका थिए। केही कुरा गर्नुछ भनेर गाडीमा राखेर भारतकै सिमर लगे। चार दिनसम्म बन्धक बनाए। केही कागजमा सही गराए। ‘मेरो आधार कार्ड पनि लगे। सितामढीबाट केके कागज बनाएर ल्याए मलाई थाहा छैन,’ त्रासको त्यो दिनबारे सुनाउँदै रामले भने, ‘विस्फोटमा परेको होइन भनेर लेखिएको कागजमा हस्ताक्षर गराए।’
घटनाबारे सुनाउँदा उनी अहिले पनि डराउँछन्। आलमका मानिसले मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए। उनलाई बन्धक बनाई बयान फेर्ने सर्त गरिएको रहेछ। उनले सर्त कबुले। बयान फेरिएको कागजमा सही गर्न लगाएर अदालतमा लगे। रामको तर्फबाट अदालतमा पेश भएको निवेदनमा आफूलाई बम विस्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ। बम विस्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको झुठो विवरण लेखाई उनलाई त्रासमा सही गर्न लगाइएको खुलेको छ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता आलम पक्राउ परेका हुन्। उनीविरुद्धको कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको तीनवटा कसुरमा मुद्दा चलि थुनछेक बहस भइरहेको छ। थुनछेक बहस सकिन नपाउँदै आलम पक्षका मानिसले साक्षीहरुलाई धम्क्याएर बयान फेर्न लगाएका छन्।

आफूलाई असुरक्षित महसुस गरेका राम अहिले जिल्ला प्रहरीको शरणमा छन्। उनले आलम पक्षका मानिसबाट ज्यान खतरामा परेको भन्दै प्रहरीमा निवेदन समेत दिएका छन्। दुई साताअघि रामले अनुसन्धानको क्रममा आफू राजपुर फरदहवामा चैत २७ गते साँझ बम विस्फोट हुँदा घाइते भएको लिखित बयान दिएका थिए। जुनसुकै मुद्दामा साक्षी होस्टाइललाई आरोपीले आर्थिक प्रलोभन, डर, त्रासलगायत विभिन्न हतकण्डा अपनाएर आफू जोगिने हतियारको रुपमा प्रयोग गर्न खोज्छन्। राजपुर बमकाण्डको घटनाको पछिल्लो घटनाले यही देखाएको छ। जिल्ला न्यायाधिवक्त खडिन्द्रराज कटवालले अदालतमा थुनछेक बहस चलिरहेको बेला साक्षीले दबाब गरेको होस्टाइल निवेदनले कुनै अर्थ नराख्ने बताए। यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस