नेपाली भूमि अतिक्रमण हुँदा सुस्तावासी आक्रोशित

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, १३ : ५१
नेपाली भूमि अतिक्रमण हुँदा सुस्तावासी आक्रोशित

सुस्ता । भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूभागमाथि अतिक्रमण भएपछि वर्षौंदेखि अतिक्रमणको चपेटामा परेका सुस्ताबासी झन् आक्रोशित बनेका छन् । सुस्तावासीले सरकारको उदासिनताका कारण भारतीय पक्षले नेपाली भूभाग मिच्दै गएको बताएका छन् । 
भारतीय पक्षले बारम्बार सुस्ताको  नेपाली भुभाग अतिक्रमण गर्दै गएपनि सरकार कानमा तेल हालेर सुते जस्तो गरेकाले अन्य क्षेत्रमा पनि भारतीय पक्षको ज्यादती बढदैं गएको उनीहरुको भनाई छ । 
सुस्ताको बस्ती २०२२ सालमा बसाउँदा त्यहांको क्षेत्रफल ४० हजार ९ सय ८० वर्ग किलोमिटर रहेको थियो । तर अहिले त्यही क्षेत्रफलबाट करिब १४ हजार हेक्टर जग्गा भारतीय पक्षले अतिक्रमण गरेको सुस्ताबासीको भनाई छ । सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले सिमा स्तम्भ नहुंदा अहिले पनि १९ हजार हेक्टर जमिन विवादित बनेको बताए । 
तीनतिरबाट भारतले घेरिएको यहांको भौगोलिक बनावटका कारण सरकारले आफ्नो उपस्थिति देखाउन नसक्दा सुस्ताबासी मारमा परेका छन् । सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० वर्ग मिटर रहे पनि सुस्ताबासी नेपालीले अहिले सात हजार हेक्टर जमिनमात्रै उपभोग गर्न पाएका छन् । नेपाल र भारत दुवै पक्षका कारण अहिले पनि १९ हजार हेक्टर जमिन सीमास्तम्भ नहुँदा विवादित भएको भन्दै कुनै पनि पक्षले प्रयोग गर्न पाएका छैनन् । त्यस क्षेत्र वरपर अहिले घना जंगल छ । 
सुस्ताको सीमा विवाद समाधानका लागि पटकपटक सरकारलाई गुहारे पनि ठोस पहल नभएको अभियानका अध्यक्ष गुरुङको गुनासो छ । उनका अनुसार अहिले यस क्षेत्रमा एउटा सिमलको रुखलाई आधार मानेर पारि भारतीय एसएसबीले सुरक्षा गस्ती गर्छ,  त्यसदेखि यतातिर नेपालको सशस्त्र प्रहरीले गस्ती गर्छ । भारतीय पक्षका सुरक्षाकर्मीले गस्ती गर्दागर्दै पनि जंगल पनि अतिक्रमण गर्ने गरेको गुनासो सुस्तावासीको छ । 
जमिनकै विषयलाई लिएर पटकपटक दुई देशका स्थानीयबीच विवाद हुने र त्यस्ता विवादमा भारतीय सुरक्षाकर्मीले समेत नेपालीको दोष देखाउँदै धम्की, गालीगलौज र गोली ठोकिदिने धम्कीसमेत दिने गरेको स्थानीय रवीन्द्र जैसवालले बताए । नेपाली भूमिमै बसेर पनि भारतीयको थिचोमिचो सहनुपर्दा सुस्तावासीको मनमा सरकारप्रति आक्रोश भरिएको छ । 
सुस्ताको बस्ती बसाल्ने बेला सीमास्तम्भ राम्ररी नराखिँदा भारतीय पक्षले २०३४ सालदेखि नेपाली भूमि अतिक्रमण गर्न सुरु गरेको हो । त्यसयता १४ हजार हेक्टर जमिन अतिक्रमण गरी भारतीयले बस्ती बसालेका छन् । बाँकी जमिनमा पनि विवाद बढ्दै गएपछि २०६२ सालमा दुवैतर्फका सम्बन्धित जिल्लाका प्रशासन प्रमुख तथा स्थानीय प्रशासनको सहमतिमा एउटा ठूलो सिमलको रुखलाई अस्थायी सीमा तोकियो । त्यति बेलै १९ हजार हेक्टर जमिन कसैले जोतभोग नगर्ने समझदारीसहित तत्कालका लागि समस्या समाधानको प्रयास गरिएको सुस्ता बचाउ अभियानका अध्यक्ष गुरुङले बताए ।
‘सरकारसँग हामीले केही मागेका छैनौं, सीमा छुट्याइदेऊ, हामीले हाम्रो भूमि जोतेर खान्छौं मात्रै भनेका हौं’, जैसवालले भने । नारायणी नदी पारि रहेको सुस्ता पुग्न नदीमा नेपालतर्फ पुल नहुँदा वर्षामा नेपालीले भारतको बाटो प्रयोग गरेर जानु पर्ने बाध्यता छ । सीमा विवादले दुवै देशबीच विवाद हुंदा भारतीय पक्षले त्यही बाटो पनि हिँड्न नदिएर दुःख दिने गरेको जैसवालले बताए । 
हिउँदमा भने नेपालीहरु डुंगा चढेर नारायणी वारपार गर्छन् । २ सय ७२ घरधुरी रहेको सुस्तामा ३ हजार १ सय ३३ जनसंख्या छ । 

प्रतिक्रिया दिनुहोस