कोकाकोलाविरुद्ध उजुरीको तयारी

कोकाकोला पिउनेलाई मस्ती, कारखाना वरपर बस्नेलाई सास्ती

कोकाकोला उत्पादन गर्ने कारखाना वरपर बस्नेहरु सबैखाले प्रदूषणको कारण सास्ती खेप्न बाध्य

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १६ : ३७
कोकाकोला पिउनेलाई मस्ती, कारखाना वरपर बस्नेलाई सास्ती

चितवन । भरतपुरमा रहेको कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडले ध्वनि, वायु र जल प्रदूषण बढाएको छ । कोकाकोला उत्पादन गर्ने कारखाना वरपर बस्नेहरु सबैखाले प्रदूषणको कारण सास्ती खेप्न बाध्य भएका छन् । कोकाकोला कम्पनीको ज्यादतीबाट आजित भएका स्थानीयवासीले कोकाकोलाविरुद्ध उजुरीको तयारी गरेका छन् ।
कोकाकोला कम्पनीले स्थानीय क्षेत्रमा प्रदूषणको आतंक फैलाएको छ । कारखानाले गर्ने ध्वनि र वायु प्रदुषणका कारण आसपासका स्थानीयहरु निकै ठुलो मानसिक तनावमा बसेका छन् । कारखानाभन्दा पछाडिको क्षेत्रमा घर बनाएर बसेका स्थानीयहरुले मेसिनको चर्को आवाजका कारण कान समेत कम सुन्ने अर्थात् बहिरो हुने समस्यामा परेको गुनासो गरेका छन् ।
हरेक दिन २४ घन्टा मेसिन कराएको आवाजले आफूहरु राम्रोसंग घरमा निदाउन समेत नपाएको गुनासो स्थाीनय राधिका कँुवरले गर्नु भयो । कोही पाहुना आउँदा पनि गफ गर्नै नपाइने, घरमा एक जनाले बोलेको अर्कोले नसुन्ने अवस्था सृजना भएको उहाँको दुःखेसो छ ।
कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडले ध्वनि प्रदूषणमात्र नभई वायु प्रदूषण समेत गर्ने गरेको छ । दैनिक ५ देखि ७ पटकसम्म त अति नै नराम्रो सिनो गन्हाएभन्दा पनि बढी गन्हाउने प्रदूषित हावा बाहिर फाल्ने र त्यसले गर्दा बान्ता नै आउने गरेको स्थानीयवासीहरुको भनाइ छ ।
कारखानाले त्यहाँभित्रको प्रदूषित पानी समेत त्यसै फाल्ने गरेको छ जसले गर्दा कारखाना आसपासको क्षेत्रमा फोहोर पानीको ताल पर्ने गरेको छ । कारखानाले चिनीपानीको दूषित घोल समेत बस्तीतिरै बगाउने गर्दा भिंmगा र लामखुट्टे अत्याधिक लाग्ने गरेको स्थानीय शान्ता कँुवरले बताउनु भयो ।
कोकाकोला उत्पादन गर्ने कम्पनीको प्रशासनमा गई गुनासो गर्दा ‘तिमीहरुको घरभन्दा कोकाकोला कम्पनी पुरानो हो, किन यहाँ घर बनाएको त’ भनी उल्टै धम्काउने गरेको उहाँको भनाइ छ । कोकाकोला कारखानाकै कारण आसपासका क्षेत्रका मानिसहरु अधिकांश बिरामी पर्ने गरेकोे स्थानीय वासिन्दा सूर्यबहादुर थापाले बताउनु भयो । कारखानाकै कारण खानेपानीमा समेत निकै समस्या भएको र खानेपानीमा पनि हिलो र बालुवा आउने गरेको उहाँको भनाइ छ । 
कारखानासंगै घर जोडिएका अर्का एक जना स्थानीयवासीले नाम नबताउने शर्तमा कारखानाकै कारण आफ्नो घरका अधिकांश सदस्य बिरामी परेको बताउनु भयो । कारखानाले ध्वनि प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण सबै क्षेत्र नै प्रदूषित पारेर आफूहरुको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार कारखानाले खोसेको उहाँको दुखेसो छ ।
आफूहरुको पीडा सुनाई नसक्नु र खपी नसक्नु भएको उहाँ बताउनु हुन्छ ।
सबैतिर डेंगु नियन्त्रणको चर्चा चलिरहँदा आफूहरुको बसोबास क्षेत्रमा कारखानाले फालेको पानीका कारण हरेक दिन ताल पर्ने र कारखानाकै कारण यहाँ डेंगुको उच्च जोखिम समेत सिर्जना भएको उहाँको भनाइ छ । पटकपटक टोलका सबै अगुवाहरुलाई भने पनि समस्या कहिल्यै समाधान नभएको र सबै जना पैसामा नै बिकेकाले समस्या भएको उहाँ तर्क गर्नु हुन्छ ।

कोकाकोलाविरुद्ध उजुरीको तयारी
चितवनको भरतपुरमा रहेको तराई बोटलर्स नेपाल लिमिटेड कम्पनीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गर्ने तयारी स्थानीयले गरेका छन् । यस क्षेत्रमा कारखानाले वायु र ध्वनि प्रदुषण अत्याधिक गरेपछि स्थानीयवासीहरुले कोकाकोला कारखानाका विरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गर्ने तयारी गरेको स्थानीय अगुवा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कमल घिमिरेले बताउनु भयो ।
पटक पटक यो समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाई नभएको र यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सम्झौता पनि पालना गर्न कम्पनी तयार नभएपछि आफुहरु यसका बिरुद्ध कडा संघर्ष गर्ने तयारीमा लागेको उहाँ बताउनु हुन्छ । कम्पनीका कारण घर बस्नै नसक्ने अवस्थामा पुगेको, हरेक समय सिनो जस्तै गनाउने हावा चल्ने र मेसिन कराएको आवाजले स्थानीयहरुमा कान कम सुन्ने समस्या समेत सृजना भइसकेको उहाँ बताउनु हुन्छ ।


उहाँका अनुसार यहाँ खानेपानीको समेत समस्या सृजना भएको छ । कम्पनीले अनुमतिबिनै ठुला ठुला बोरिङ गरी  धेरै तलसम्मको पानी तानेकाले ईनारहरु सुकेर जमिन समेत सुख्खा हँुदै गएको, केही घरहरु समेत भासिन थालेको, जमिन समेत भास्सिँदै गएको उहाँले बताउनु भयो । 
कारखानाको प्रदूषणका कारण तिहार पछाडि त झन् बस्नै नसक्ने अवस्था सृजना भएकोे स्थानीय युवा तेज अर्यालले बताउनु भयो । आफुहरुले समिति बनाएर कानुनी प्रक्रियाबाट कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल समेत गर्ने तयारी गरेको उहाँको भनाई छ ।
विकास चोक आमा समुहकी अध्यक्ष नारायणी थापामगरले दुर्गन्ध र ध्वनि प्रदुणले बेलुका सुत्नै नसकिने बताउनु भयो । विकास चोक टोल सुधार संस्थाका अध्यक्ष घननाथ उपाध्यायले प्रदूषण छ भनेर जान्दाजान्दै पनि घर बनाएपछि समस्या भैहाल्ने बताउनु भयो । जनप्रतिनिधिलाई भनेर पनि केही नभएको भन्दै उहाँले यो टोलसुधारले गरेर केही नहुने जवाफ दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस