टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन ‘अकुपाई टुँडिखेल’ अभियानको मानव साङलो

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, १२ : ५३
टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन ‘अकुपाई टुँडिखेल’ अभियानको मानव साङलो

काठमाडौँ । टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले मानव साङलो निकालिएको छ । खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल अभियान‘अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो ।

पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति नभएपछि खुलामञ्च र रत्नपार्कमात्र घेरिएको थियो । एकअर्काको हात समातेर घेर्न पुग्ने मानिसहरु नभएपछि हरियो रंगको रिबन टाँगेर मानिसहरुले त्यही रिबन समातेका थिए ।

टुँडिखेललाई अतिक्रमणमुक्त बनाउने ‘अकुपाई टुँडिखेल’ अभियान सुरू भएको छ। नागरिकस्तरबाट सुरू भएको अभियानमा जनप्रतिनिधि, विभिन्न संघसंस्थालगायतले साथ दिएका छन्।

मानव साङ्लो बनाउने कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, काठमाडौं ४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद गगन थापा, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमालगायत सहभागी थिए।

‘टुँडिखेल कसको विर्ता जनताले लिनेछ अब फिर्ता, खुला ठाउँलाई खुला नै राखौं, टुँडिखेल बिक्रीका लागि होइन’ लेखिएका प्लेकार्ड बोकेर मानव साङ्लो बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस