चितवन । हरिबोधिनी एकादशीका अवसरमा देशभरका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिन्छ ।
आजको दिन नदी तथा जलाशयमा गई स्नान गरी भगवान् विष्णुको आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । सोही विश्वासका कारण नेपालको चितवनको देवघाट, काठमाडौँका पशुपतिनाथ, पोखराको सेती नदी किनारमा भक्तजनहरुको ठूलो घुइँचो लागेको थियो ।
धार्मिक धर्मग्रन्थहरूमा हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशीका रूपमा लिइन्छ ।
आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन् ।
आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । आजैका दिन बहुउपयोगी वनस्पति तुलसीको विवाह गर्ने प्रचलन छ । रामघाट, लागादी लगायतका स्थानमा आज एकादशी मेला लाग्ने भएकाले ती स्थानमा सुन्तला, बदाम, सक्खरखण्डका साथै चोयाका समान बिक्री हुने गरेको छ ।
देवघाटधाम र चित्रसारीमा भीड
चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ ।
देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको छ । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए ।
यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ । विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो ।
मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ । यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै