‘दराज अनलाइन’को ठगी धन्दा : वाणिज्य विभाग भन्छ– छानबिन गर्न उजुरी आएन

पत्रपत्रिकाबाट

विहीबार, २१ कार्तिक २०७६, ०७ : ००
‘दराज अनलाइन’को ठगी धन्दा : वाणिज्य विभाग भन्छ– छानबिन गर्न उजुरी आएन

काठमाडौं । अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

विभागका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘ठगीको उजुरी विभिन्न सञ्चारमाध्यम र उपभोक्ताबाटै आए पनि ध्यान दिनै सकिएको छैन।’

भाँडाकुँडा, कपडा, गरगहना, मोबाइलजस्ता सामान बेच्दै आएको उक्त कम्पनीले हेर्नै नदिई आफूले मगाएकोभन्दा कम गुणस्तरको सामानलाई बढी मूल्य लिएको एक उपभोक्ताले नेपाल समाचारपत्रलाई बताउँदै भने– ‘आफूले सामान नदेखाए नलिनेभन्दा सामान देखाउन नमिल्ने र सामानको खोल खोले फिर्ता नहुनेजस्ता धम्की दिए।’

अर्का एक उपभोक्ताको पनि यस्तै गुनासो छ। एउटा सामानमा धेरै छुट देखाएर बजारमूल्यभन्दा धेरै मूल्यमा बिक्री गर्ने गरेको उनले बताए। उनका अनुसार सामान बिकाउन भारी छुट दिएजस्तो गरी बजार मूल्यभन्दा बढीमा बिक्री गर्ने गरिन्छ।

यतिमात्रै नभई उक्त अनलाइनले बिक्री गर्न बाहिरी मानिसलाई पठाउने र पछि सम्पर्कविहीन हुने जस्तो कार्यसमेत गरेको पाइएको छ। यस्तै उपभोक्ताको पैसा फिर्ता नगर्ने अधिकांश उपभोक्ताको गुनासो छ।

प्रदीप अधिकारीले अरू बेला १ हजार १ सय ६० रुपियाँ पर्ने घडीलाई दराजले ११.११ स्पेसलमा १ हजार ९ सय ८४ मूल्य राखेको सामाजिक सञ्जालमा राखेका छन्।यस्तै, सुजन श्रेष्ठका अनुसार क्यानन ५० एमएम लेन्स भएको क्यामेरालाई ११.११ मा यसको दोब्बर मूल्य राखिएको छ।

यी घटना प्रतिनिधि घटना मात्रै हुन्। दराज अनलाइनबाट अनलाइन किनमेल गर्नेहरूको गुनासो यसअघि विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरिसकेका छन्। यद्यपि यसबारे न दराजले नै केही सुधार गरेको छ न त सरकारी निकाय नै यसबारे जानकार रहेको छ।

‘सेल डे’को डर
दराज अनलाइनले ११.११ अर्थात् हरेक वर्षको नोभेम्बर ११ मा मनाउँदै आएको ‘सेल डे’का अवसरमा पनि धेरै अफर तथा स्किमहरू देखाई उपभोक्ता आकर्षित गरी बढी कमिसन खाने गर्छ। विगत सम्झँदै उपभोक्ताहरू यस वर्ष पनि सशंकित भएका छन्।

जानअञ्जानमा उक्त कम्पनीको लुटको जालोमा फसेको बताउँदै उनीहरूले यसबारे तत्काल अनुसन्धान गरी सम्बन्धित निकायले कारबाहीका लागि तदारुकता देखाउनुपर्ने माग राखेका छन्।अनलाइन बजारको नाममा खुलेआम भइरहेको ठगीमा राज्यसंयन्त्र बेखबर भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग यसबारे बेखबरजस्तै छ। पटकपटक गुनासो आए पनि यतातर्फ कुनै कदम चाल्न नसकिएको बताउँदै उक्त विभागका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘ठगीको उजुरी विभिन्न सञ्चारमाध्यम र उपभोक्ताबाटै आए पनि ध्यान दिनै सकिएको छैन।’

यद्यपि विभागका अधिकृत रमेशकाजी श्रेष्ठले भोलि नै कार्यालयमा कुरा राखी आवश्यक अनुगमन गर्ने नेपाल समाचारपत्रसँग बताउनुभयो। यस्तो उजुरी अहिलेसम्म नआएको बताउँदै उहाँले उपभोक्ताले सामान किनेको बिलसहित आफू ठगिएको उजुरी दिए तत्कालै अनुसन्धान र छानबिन थाल्ने श्रेष्ठले जानकारी दिनुभयो। आजको नेपाल समाचारपत्रमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस