समाजवादी–राजपा एकता, हात्ती आयो हात्ती आयो फुस्सा !

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, ०७ : २४
समाजवादी–राजपा एकता, हात्ती आयो हात्ती आयो फुस्सा !

काठमाडौं । सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ।एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।

दुवै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जनता र कार्यकर्ताको चाहनाअनुसार दुवै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरूपमा अगाडि बढेको छ।’

कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्तिका रूपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो। एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाद रहेको बताइएको छ।

समाजवादीमा अध्यक्षद्वय डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई शीर्ष तहमा रहनुभएको छ। तर राजपाभित्र ६ सदस्यीय अध्यक्षमण्डल रहेकाले शीर्ष तहको नेता छनोटमा सकस परेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो एकता प्रक्रियाका लागि दौडधूपमा रहनुभएकोे भए पनि राजपाका अध्यक्ष मण्डलकै एक सदस्यले भने तत्काल समाजवादी पार्टीसँग एकता सम्भव नरहेको बताए।

प्रतिक्रिया दिनुहोस