सरकार उदार भएरै प्रदेश प्रमुखलाई दुई वर्षसम्म हटाइएन : प्रचण्ड

मंगलबार, १९ कार्तिक २०७६, १० : ४८
सरकार उदार भएरै  प्रदेश प्रमुखलाई  दुई वर्षसम्म हटाइएन : प्रचण्ड

नेपालगञ्ज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार उदार भएरै यसअघिका प्रदेश प्रमुखहलाई दुई वर्षसम्म काम गर्न दिइएको बताउनुभएको छ । उहाँले विदेशकै प्रचलन हेर्ने हो भने सरकार परिवर्तन भएसँगै प्रदेश प्रमुख फेरिने चलन रहेको बताउँदै भन्नुभयो, ‘यो सरकार उदार भएकै कारण उहाँहरुले दुई वर्ष काम गर्न पाउनुभयो ।’

५ नम्बर प्रदेशको बाँके र दाङमा हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेको प्रचण्डले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा सरकारले फेर्नु सामान्य विषय भएको टिप्पणी गर्नुभएको थियो । 

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरुले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन सकेन । कयौ देशमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज गर्ने प्रचलन छ । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’

प्रचण्डले सत्ता साझेदार दल समाजवादी पार्टी नेपालसँग पनि सल्लाह गरेर प्रदेश प्रमुख फेरिएको बताउनुभयो । ‘प्रदेश प्रमुख फेर्ने विषयमा उपेन्द्रजीसँग सल्लाह भएको हो । उहाँले क्याबिनेटमा आफ्नो कुरा राख्नु भयो होला । पुरानोजति सबै पदमुक्त गर्ने भनिएकाले यसो भएको हो’ प्रचण्डले भन्नुभयो । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर सरकारले सोमबार नयाँ नियुक्ति गरेको थियो । सो नियुक्तिको विषयमा सरकारका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले पार्टीसँग कुनै छलफल नभएको अभिव्यक्ति दिएको बेला प्रचण्डबाट यस्तो भनाइ आएको हो । 

प्रचण्डले माधव नेपालले आफ्नो मान्छे नपर्दा निर्णयमा नोट अफ डिसेन्ट लेख्नुलाई स्वाभाविक रुपमा लिएको पनि बताउनुभयो । ‘माधवजीले प्रदेश प्रमुखमा एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । तर चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो’ प्रचण्डले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस