सुरुङभित्र थुनिएका मजदुरको उद्धार गर्दै नेपाली सेना

रासस

सोमबार, १८ कार्तिक २०७६, १६ : ०१
सुरुङभित्र थुनिएका मजदुरको उद्धार गर्दै नेपाली सेना

बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । 

दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताउनुभयो । उनीहरुसँगै सुरुङभित्र गएका अन्इ दुई मजदुर भने बाहिर निस्किन सफल भएको उहाँले बताउनुभयो । “चार जनाको अवस्था अज्ञात छ”, बमले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको  टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडाँैबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ । - रासस

प्रतिक्रिया दिनुहोस