नेपालका पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको पुष्टि

भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा रहेछन् देवेन्द्रराज कँडेल

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, १४ : २०
नेपालका पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको पुष्टि

काठमाडौं । तत्कालीन नेकपा माओवादीका शीर्ष नेताको टाउको काटेर झोलामा ल्याए मोटो रकम दिने भन्दै कुर्ली हिँड्ने पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसको नाममा आपराधिक गतिविधि गरिरहेका देवेन्द्रराज कँडेल अन्ततः कानुनी फन्दामा पर्ने भएका छन् । 
काँग्रेस सभापति शेरबहादुर देउवाको आडमा अपराध कर्म गरिरहेका कँडेल भारतीय नागरिक भएको पुष्टि भएको छ । प्रचारमा आएको तथ्य र प्रमाणका आधारमा कँडेललाई कारवाही हुने गृह मन्त्रालयको भनाइ छ ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष कार्यकालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहराज्यमन्त्री रहेका कँडेल भारतीय नागरिक भएको विवरण बाहिर आएका छन् । उनी भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उल्लेख गर्दै महाराजगञ्जको ठुटीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष भएको समाचारहरूमा जनाइएको छ ।
निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् । कँडेलले भने आफू भारतको अस्थायी बासिन्दामात्रै भएको दाबी गरेका छन् । 
कांग्रेस सांसद तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले तत्कालीन अवस्थामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको टाउको झोलामा ल्याउन उर्दी गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको निर्देशनमा माओवादीका नेता तथा कार्यकर्ताको टाउको काटेर ल्याउन सार्वजनिक रुपमा नै आह्वान गरेका थिए । 
मुक्तियुद्धमा लागेका, परिवर्तनको प्रवाहमा हेरिएको पार्टी र त्यसका नेता तथा कार्यकर्ताको टाउको काटेर ल्याउन निर्देशन दिने कँडेललाई कारवाही गर्ने तयारीमा सरकार जुटेको छ । हालका गृहमन्त्री रामबहादुर थापालाई समेत कँडेलले टाउको काटेर ल्याए ५० लाखसम्मको इनाम दिने घोषणा गरेका थिए । त्यसो त उनै कँडेलले नेकपा अध्यक्ष प्रचण्ड, तत्कालीन नेताहरु डा बाबुराम भट्टराई, मोहन वैद्य किरणको समेत टाउको काटेर ल्याउन उर्दी दिएका थिए । 
उनी कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाट निर्वाचित प्रतिनिधिसभाको सांसद हुन् । त्यसो त अमानवीय रुपमा नागरिक मारेको आरोप लागेका काँग्रेस सांसद मोहम्मद अफताल आलम जोगाउन पनि काँग्रेसले न्वारनदेखिको बल लगाएको छ । अरु विषयमा चर्का चर्का कुरा गर्दै हिँड्ने गगन थापा समेत कँडेल र आलमको विषयमा चुप लागेर जग हँसाउने काम गरेका छन् । 
उनी गृहराज्यमन्त्री हुँदा एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन सरकारले गरेको निर्णय कार्यान्वयनका विषयमा बोल्दै प्रचण्ड, डा. बाबुराम भट्टराई र मोहन वैद्यको टाउको झोलामा ल्याए ५० लाख नगद दिने बताएका थिए ।

अख्तियारमा उजुरी
कँडेल भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उनले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ । भारतीय नागरिक भएको भन्दै विवादमा आएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले भने आरोप प्रमाणित भएजस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।

भारतको निर्वाचनमा भाग लिएको कुनैपनि प्रमाण भेटिए आफुलाई जस्तोसुकै सजाय दिन पनि उनले चुनौती दिए। नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कँडेलले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी गरे । ‘म सानैदेखि भारतमा बसेर पढेको हो। त्यहाँ म साथीको घरमा बस्थेँ। तर मैले भारतमा कुनैपनि निर्वाचनमा भाग लिएको छैन’, कँडेलले भने । 

प्रतिक्रिया दिनुहोस