‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा (भिडियो सहित)

भरतपुर महानगरले मानव सेवा आश्रमलाई घरभाडा र नयाँ गाडी दिने

प्रकाश सिग्देल

शनिबार, ०९ कार्तिक २०७६, १४ : १८
‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा (भिडियो सहित)

चितवन । चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र वाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्नु भएको हो ।
मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा शनिबार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् ।  कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै महानगर प्रमुख रेनु दाहालले घोषणासंगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताउनु भयो । 
उहाँले चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताउनु भयो । उहाँले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घर भाडा महानगरले तिरिदिने बताउनु भयो । उहाँले मानव सेवा आश्रमलाई महानगरले सवारी साधन दिने समेत बताउनु भयो । 
घोषणापूर्व नारायणगढको क्याम्पाचौरबाट शोभायात्रा निकालिएको थियो । शोभायात्रा बजार परिक्रमा गरी महानगर परिसरमा आएर कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुले प्रतिवद्धता मन्तब्य राखेका छन् । शोभायात्रामा सयौंको संख्यामा सहभागीहरु रहेका थिए । 


सरकारी कार्यालय, संघसंस्था अस्पताल सबैले आआफनो ब्यानरमा सहभागिता जनाएका थिए । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको थियो । यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । 


महानगर प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भीख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गास, बास र कपासका लागि भौँतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको बताउनु भयो । महानगर प्रमुख दाहालले कार्यक्रमका सहभागीहरुलाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धतासहितको शपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस