चिनीरोगीले के खाने, के नखाने ?

पत्रपत्रिकाबाट

आइतबार, २१ माघ २०७४, १७ : ३६
चिनीरोगीले के खाने, के नखाने ?

डाइबिटिज अर्थात् चिनीरोग मानिसका लागि निकै हानिकारक मानिन्छ । यस्तो रोग लागिसकेपछि पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो छ । यसलाई घटाउन मात्र सकिन्छ । चिनीरोग लागेपछि यसको औषधि त सेवन गर्नुपर्छ नै, तर यतिले मात्र पुग्दैन । यस्ता बिरामीका लागि महत्वपूर्ण कुरा भनेको खानपान हो । यदि खानपानमा सचेत नभएमा चिनीरोगले ज्यानसमेत लिन सक्छ । तर, चिनीरोगीले कस्तो खाना खाने भन्नेबारे थुप्रै भ्रम पनि छन् ।

आरएम कार्की, डाइटिसियन, डाइटथेरापी क्लिनिक

के नखाने ?
१. चिनीरोगीले कहिल्यै पनि रिफाइन गरेको चामलको भात खानु हुँदैन । किनभने, रिफाइन राइसबाट शरीरले सजिलै र छिटो कार्बोहाइड्रेड ग्रहण गर्छ । जसले गर्दा छोटो समयमै रगतमा चिनीको मात्रा बढिहाल्छ ।

२. चिनीरोगीले आलु पनि खानु हुँदैन या कम गर्नुपर्छ । आलुमा पनि बढी मात्रामा कार्बोहाइड्रेड हुने भएकाले यसले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

३. कतिपयलाई लाग्न सक्छ पाउरोटी अर्थात् ह्वाइट ब्रेडले चिनीरोगीलाई कुनै असर पार्दैन । तर, यो पनि चिनीरोगीका लागि विष साबित हुन सक्छ । जुनसुकै रिफाइन प्रडक्टले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

४. चिनीरोगीले कहिल्यै पनि कोल्डड्रिंक्सको प्रयोग गर्न हुँदैन । त्यस्ता पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ ।

५. प्रोसेस मिटबाट बनेका कुनै पनि खाद्यपदार्थको प्रयोग गर्नु हुँदैन, जस्तै– ससेज, बर्गर अदि । किनभने, त्यस्ता खाद्यपदार्थमा बढी चिल्लो पदार्थ हुन्छ । चिनीरोगीले बढी चिल्लो पदार्थको पनि प्रयोग गर्नु हुँदैन । किनभने, यसले मिर्गौला र मुटुसम्बन्धी रोगको सम्भावना अत्यधिक हुन्छ ।
के खाने ?

१. चिनीरोगीले रिफाइन राइसको सट्टामा ब्राउन राइस खानु उपयुक्त हुन्छ । किनकि, यस्तो राइसमा फाइबर बढी हुन्छ । खानापछि शरीरले बिस्तारै कार्बोहाइड्रेड ग्रहण गर्छ र रगतमा ग्लुकोजको मात्रा पनि बिस्तारै बढ्छ ।

२. आलुको सट्टामा स्विट पोटाटोको प्रयोग गर्न सक्नुहुन्छ । किनकि, यसमा चिनीको मात्रा अत्यधिक कम हुन्छ । यस्तो आलुलाई सखरखण्ड भनिन्छ । यसबाट साधारण आलुभन्दा बढी मात्रामा पौष्टिक तत्व पाइन्छ ।

३. पाउरोटी अर्थात् ह्वाइट ब्रेडको सट्टामा ‘होल विथ ब्रेड’ खान सकिन्छ । किनभने, यस्तो ब्रेड रिफाइन नगरिएको आँटाले बनाइएको हुन्छ । चिनीरोगीले मैदाबाट बनेको खाद्यपदार्थ खानु हुँदैन ।
४. कोल्डड्रिंक्स र जुसको सट्टामा हामीले फलफूल नै खानुपर्छ । तर, फलफूलको पनि अत्यधिक प्रयोग भने गर्नु हुँदैन ।
५. हामीले आँटा, फापर, कोदो, मकैको रोटी खान सकिन्छ । यसबाट बनेका जुनसुकै खाद्यपदार्थको प्रयोग गर्दा हुन्छ ।
६. कतिपय चिनीरोगीले कर्नफ्लेक्सको प्रयोग गर्छन् । यसो गर्नु हुँदैन । बरु रिफाइन नगरिएको मकैबाट बनेको खाद्यपदार्थ प्रयोग गर्नु उत्तम हुन्छ ।

७. चिनीको सट्टामा सुगर–फ्री प्रयोग गर्न सकिन्छ, जसलाई क्याकारिन, इन्टेभिया भनिन्छ । यसलाई चिया, हटलेमन वा अन्य खाद्यपदार्थमा प्रयोग गर्न सकिन्छ । यसमा चिनीको मात्रा हुँदैन तर गुलियो स्वाद भने आउँछ ।

८. चिनीरोगीले जति बढी सलाद आइटम खान सक्यो त्यति फाइदाजनक हुन्छ, जस्तै– मुला, गाँजर, साग, काँक्रा आदि ।

के रोटी खानु ठीक हो ?
चिनीरोगीले भातको सट्टामा आँटाको रोटी जति पनि खान हुन्छ भन्ने मान्यता छ । जुन गलत हो । किनकि, यसमा पनि चिनीको मात्रा हुन्छ । रोटीबाट पाइने कार्बोहाइड्रेड पनि शरीरमा गएर चिनी नै बन्ने हो । यति हो कि यसमा रिफाइन प्रडक्टमा जति चिनीको मात्रा हुँदैन ।

चिनीरोगीले डाइजेस्टिभ बिस्कुट खानुपर्छ भन्ने मान्यता छ । जुन गलत हो । यसमा फाइबरको मात्रा हुन्छ भन्ने हो । तर, यस्तो बिस्कुटले पनि त्यति नै असर गर्छ, जति साधारण बिस्कुटले गर्छ ।(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस