विश्वका कम्युनिष्ट पार्टीहरुको २१ औं बैठक टर्कीमा, नेकपाले के भन्यो ?

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १६ : ५१
विश्वका कम्युनिष्ट पार्टीहरुको २१ औं बैठक टर्कीमा, नेकपाले के भन्यो ?

काठमाडौं । टर्कीको इज्मिरमा आयोजित विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको २१ औं बैठकमा नेपाल कम्युनिष्ट पार्टीले आ-आफ्ना देशका मौलिक विशेषताहरुलाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र वलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ । नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय , क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराउनुभयो ।

६० देशका ७५ कम्युनिष्ट पार्टीहरुको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीहरुको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी)नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको छ ।
सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मुल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सव : शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ ।
शुक्रवार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट  पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गर्नुभएको थियो ।

मुख्य बैठक अघि विहिवार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप ) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो । विश्वका २५ वटा प्रमुख कम्युनिष्ट पार्टीहरु रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ ।

निर्वाचनबाट सत्तामा आएको विश्वको एकमात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ –आफ्नो देशको मौलिकता अनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीहरुलाई नेपालका तर्फबाट आह्वान गरिएको छ । उप प्रमुख रिजालले भन्नुभयो, ‘जनताका हरेक सुख-दु:खमा सधैं साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई  मत दिएका छन् ।’ आफ्नो पार्टी र सरकारको उदेश्य  सामन्तवादका अवशेष र पुँजीवादका विकृतिहरुलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उहॉले त्यसैका लागि‘ सुखी नेपाली : समृद्ध नेपाल ’ को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिनुभयो ।

प्रतिक्रिया दिनुहोस